६ हजार मिटरभन्दा अग्ला हिमालका विवरण बनाइँदै

काठमाण्डु टुडे २०७० पुष २० गते १०:४६ मा प्रकाशित

Mountains, Khumjungकाठमाण्डु, २० पुस– सरकारले देशभरका ५ हजार मिटरभन्दा अग्ला हिमालहरूको सम्पूर्ण विवरण (प्रोफाइल) बनाउनुका साथै विविध कारणले निषेधित क्षेत्र घोषित हिमाली भेगलाई खुला गर्न सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा हालै ११ सदस्यीय ‘हिमाल प्रोफाइल तयारी समिति’ गठन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल (टान), पदयात्री संगठन नेपाललगायत सरोकारवाला संघसंस्थाका वरिष्ठ पदाधिकारी सदस्य रहेको उक्त समितिले प्रोफाइल तयारीको गृहकार्य थालेको छ ।

हिमाल प्रोफाइलमा प्रत्येक हिमालको उचाइ, नक्सा, चारै दिशाको तस्बिर, आरोहण मार्ग, आधार शिविर, पदयात्रा मार्ग, स्थानीय बासिन्दा र त्यहाँको विवरण, यात्री/आरोहीलाई आवश्यक पर्ने सबै विवरण समेटिने संयोजक बुर्लाकोटीले बताए ।

मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योगको सामयिक विकास एवम् प्रवद्र्धनका लागि प्रोफाइल अपरिहार्य भएको महसुस गरी सरकारले छिटै त्यसको तयारी थाल्न समिति गठन गरेको सहसचिव बुर्लाकोटीले जानकारी दिए ।

प्रसिद्ध भूगोलविद् डा हर्क गुरुङले धेरै अगाडि नेपालमा एक हजार ३ सय १० वटा हिमाल छ हजार मिटरभन्दा अग्ला रहेका विवरण सार्वजनिक गरेका थिए ।

गुरुङकै विवरणका आधारमा सरकारले प्रोफाइल बनाउन लागेको हो । हाल सरकारले ३ सय २६ वटा हिमालमा आरोहणको अनुमति दिएको छ । प्रोफाइल तयार भएपछि त्यसमा नयाँ हिमाल आरोहण, विद्यमान सलामी रकम परिमार्जनलगायत पदयात्री÷आरोही आकर्षित गर्ने विविध सुझावसमेत समेटिने छ ।

यसैबीच, सहसचिव बुर्लाकोटीले कञ्चनजंघादेखि हुम्लासम्मका निषेधित क्षेत्र आरोहण÷पदयात्राका लागि खुला गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए ।

खम्पा विद्रोहका कारण तत्कालीन अवस्थामा निषेध गरिएका मुस्ताङका केही निषेधित क्षेत्र खुला गर्नुपर्ने माग पदयात्रा व्यवसायी एवम् टानलगायत संस्थाबाट आएकाले महाशाखाले त्यस्तो सिफारिस गरेको हो । माथिल्लो तथा तल्लो डोल्पा, गोरखाको मनास्लु क्षेत्र, चुम उपत्यकालगायत नौ क्षेत्रमा पदयात्रा तथा आरोहणका लागि सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।

चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएका ती निषेधित क्षेत्रलाई अब खुला गर्नुपर्ने धारणा टानका पदाधिकारीहरूले व्यक्त गर्दै आएका छन् । चीन स्वयम्ले संसारका निम्ति आफ्नो भू–भाग खुला गरेको परिप्रेक्ष्यमा नेपाल सरकारले निषेधित क्षेत्र कायम राख्नु तर्कपूर्ण नभएको उनीहरूको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव रञ्जनकृष्ण अर्याल पनि टानका पदाधिकारीहरूको भनाइप्रति सहमति जनाउँदै वारि नेपालतर्फ केही नहुनु र पारी तिब्बत सरकारले प्राकृतिक वैभवको भरपुर उपयोग गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्छन् ।

परम्परागत सोचबाट मुक्त भएर अब नव नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन पनि निषेधित क्षेत्र क्रमशः खोल्दै जानुपर्ने उनको धारणा छ । चीनले पश्चिमा पर्यटकलाई खुला गरिसकेको स्थानमा हामीले मात्र सुरक्षा सम्वेदनशीलता भनेर बस्नु ठीक नहुने उनले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us