दर्जन उद्योगमा सिलबन्दी

काठमाण्डु टुडे २०७० पुष १ गते १०:१० मा प्रकाशित

ललितपुर, १ पुस– वातावरण विभागले काठमाण्डु उपत्यकाभित्र पर्यावरण बिगार्ने गरी मापदण्डविपरीत सञ्चालन भइरहेका उद्योग, व्यवसाय तथा कलकारखानामाथि अनुगमन तथा कारबाही तीव्र पारेको छ ।

न्यूनतम मापदण्डसमेत पूरा नगरी वातावरणलाई प्रत्यक्ष हानि पुर्‍याउने गरी सञ्चालित उद्योगमाथि विभागले निगरानी तथा कारबाही प्रक्रिया अघि बढाएको हो । अनुगमनकै क्रममा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा सोझै हानि पुर्‍याउने गतिविधि गरी गैरकानुनी ढङ्गले सञ्चालन भइरहेका वासिङ, डाइङ प्लान्ट तथा कपडा छपाइलगायतका काम गर्ने एक दर्जन उद्योगमा विभागले सिलबन्दी गरेको छ ।

विभागका महानिर्देशक डा. युवकध्वज जिसी संयोजक रहेको टोलीले अन्य सरोकारवाला सरकारी निकायसमेतको समन्वयमा विभिन्न स्थानमा अवस्थित ती उद्योगहरू बन्द गराई कारबाही प्रक्रिया अघि बढाएको हो ।

पटकपटक सचेत गराउँदासमेत मापदण्डअनुरूप उद्योग सञ्चालन या बन्द गर्न अटेर गरेपछि आक्रामक रणनीति लिनुपरेको महानिर्देशक जिसीले जानकारी दिए । ‘मानव स्वास्थ्यमा सोझै असर पर्ने खालका रसायन प्रयोग गरिएको, त्यसबाट निस्कने रसायनयुक्त फोहोर सिधै नदीमा मिसाइएको पाइएकाले उद्योग सिलबन्दी गरेका हौँ ।’ जिसीले भने ।

उनले थपे, ‘वातावरणीय सन्तुलन बिगार्ने तथा मानव स्वास्थ्यमा प्रत्यक्ष हानि नोक्सानी पुर्‍याउने गरी सञ्चालन भइरहेका अरू पनि उद्योगमाथि निगरानी बढाउँदैछौँ ।’

वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले उद्योग वा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us