कङ्गोमा विद्रोहको अन्त्य भएको घोषणा

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १४:५६ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोही समुहले आफ्नो विद्रोहको अन्त्य भएको घोषणा गरेको छ।

सरकारले विद्रोहीसितको लडाईंमा सैन्य विजय हासिल गरेको दावी गरेपछि विद्रोही समुह एम ट्वेन्टीथ्रीको सो भनाइ आएको हो।

एक विज्ञप्तीमा, एम ट्वेन्टीथ्रीले आफनो लक्ष प्रप्तिका लागि विशुद्ध राजनीतिक बाटो अप्नाउने जनाउँदै, आफ्ना लडाकूहरूलाई हतियार त्याग्न र विद्रोह सम्बन्धि गतिविधि रोक्न आग्रह गरेको छ।

सरकारले बाँकी रहेका विद्रोहीहरूमध्ये केहीले आत्मसमर्पण गरेका र केही रातको समयमा सीमापारी भागेका बताएको छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १९ महिनाअघि द्न्द्व शुरू भएपछि झण्डै आठ लाख मानिस घर छाडेर भागेका छन्।

अफ्रिकी नेताहरुको एक शिखर सम्मेलनले सोमबार राती गरेको एक सहमतिमा कङ्गोको सरकारसित शान्ति सम्झौता गर्न एम ट्वेन्टीथ्रीले विद्रोह त्यागेको सार्वजनिक घोषणा गर्नु पर्ने उल्लेख गरिएको थियो।

कङ्गो सरकारका प्रवक्ता ल्याम्बर्ट मेन्डेले विशेष सैन्यबलले विद्रोहीहरूलाई तीनको अनतिम पकडक्षेत्र, एउटा डाँडाको टुप्पोबाट भगाएका बताए।

‘विद्रोह सकियो’

उनले भने, “हामी यो विद्रोह सकियो भनेर भन्न सक्छौं, तर पछि के हुने हो भन्न सकिन्न।

“भाग्न सफल भएकाहरू फर्केर आक्रमण गर्न सक्छन त्यसैले यो समस्याको समाधान राजनीतिक रूपमा खोजिनु पर्छ।“

मेन्डेले भागेर सीमा पार गर्नेहरूमा विद्रोहीहरुका सैन्य प्रमुख सुल्तानी मकेङ्गा पनि रहेका बताए।

सेनाको पछिल्लो कारवाहीमा राष्ट्रसंघीय सैन्य टुकडीहरू पनि संलग्न थिए।

सोमबार सीमावर्ती क्षेत्रमा सरकारी र विद्रोही फौजबीच भिडन्त चर्केको थियो।

विद्रोहीहरुले सीमावर्ती नगर बुनागानामा गोलाबारी गरेका थिए।

त्यसक्रममा चार जनाको ज्यान गएको बताइएको छ।

विद्रोहीले गरेको युद्ध विरामको प्रस्तावलाई सरकारले सोमबार अस्वीकार गरिदिएको थियो।

Source BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us