भारत मङ्गल अभियानकाका लागि तयार

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १५:५४ मा प्रकाशित

नयाँ दिल्ली,कात्तिक–भारतले हालसम्म यस मुलुकको सबैभन्दा महत्वाकाँक्षी तथा जोखिमपूर्ण अन्तरिक्ष अभियानको रूपमा मङ्गल अभियानको दिन गणना आरम्भ गरेको छ । यस मुलुकले १५ महिना अगाडि मात्र निकै थोरै बजेटमा यो कार्यक्रमको बारेमा सोचाइ राखेको थियो ।
चीनले हालै गरेको यस्तो प्रयास असफल भएको थियो । भारतले पृथ्वीबाट करिब २० करोड किलोमिटर पर रहेको रातो ग्रहमा पुग्ने पहिलो एसियाली मुलुक बनी आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्न चाहेको छ ।
मानवविहीन यस अभियानमा १.३५ टन तौलको एक ठूलो रेफ्रिजेरेटर आकारको विमान पृथ्वीबाट प्रक्षेपण गर्ने योजना बनेको छ । यो विमान मङ्गबार अपरान्ह मुलुकको दक्षिण–पूर्वी भागको तटीय क्षेत्रमा रहेको प्रक्षेपण कक्षबाट प्रक्षेपण हुनेछ ।
सुनौला पत्रले छोपिएको र मङ्गलको परिक्रमा गर्ने लक्ष्य राखिएको यस विमानमा क्षमतायुक्त सङ्केत प्रणाली रहेका छन् र त्यसले मङ्गल ग्रहको वातावरणको मापन गर्ने अपेक्षा गरिएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाका अध्यक्ष के. राधाकृष्णनले अन्तरग्रह अनुसन्धान जटिल विषय भएको तथा हालसम्म विश्वभर ५१ वटा यस्तो अभियान सञ्चालन भए पनि केबल २१ वटा अभियानमा सफलता प्राप्त भएको बताए । उनले यो अभियान असफल भए यसबाट सिक्न सकिने र असफलता सफलताअघिको पाइला भएको बताए ।
यो अभियान सफल भए यो भारतीय जनताका लागि गौरवको विषय हुनेछ । सन् २००८ मा भारतले मानवविहीन विमान चन्द्रमामा पठाउँदा त्यहाँ पानी रहेको फेला परेको थियो । त्यसलाई निल आर्मस्ट्रङले चन्द्रमामा फाइला राखेको ३९ वर्षपछि अर्को ठूलो सफलताको रूपमा हेरिएको थियो ।
यसले भारतको ख्याति पनि बढाउनेछ । भारत हालसम्म सबैभन्दा सस्तो गाडी तथा न्यून लागतको अनुसन्धानको मुलुक भएको छ । सन् २०१२ मा यो परियोजनाको खर्च केबल चार अर्ब ५० करोड भारतीय रूपैयाँ रहेको थियो ।
तीन सय ५० टनको यो रकेट पृथ्वीबाट सोझै मङ्गलग्रहतर्फ प्रस्थान नगरिकनै यसले पृथ्वीलाई एक महिनासम्म परिक्रमा गर्नेछ । यसले सो समयमा पृथ्वीको गुरुत्वाकर्षण क्षमता तोड्न गति प्राप्त गर्नेछ । यस प्रविधिलाई ‘जुगाड’ भनिन्छ ।
भारतका विज्ञान पत्रकार पल्लव बाग्लाले यस प्रविधिलाई कम नआँक्न आग्रह गरे ।
अमेरिकाले मात्र हालसम्म मङ्गलग्रहमा रोबोटिक अन्वेषण यन्त्र पठाएको छ । क्युरोसिटी नाम गरेको यस विमानले सन् २०१२ मा मङ्गलग्रह टेकेको थियो ।
आइतबार बिहान स्थानीय समय अनुसार ०६ः०८ बजे मङ्गलयान प्रक्षेपणको उल्टोगन्ती आरम्भ भएको हो ।
अमेरिका, रसिया तथा युरोपेली महासङ्घले मङ्गलसम्म पुग्ने सफलता प्राप्त गरेका छन् । चीन सन् २०११ मा यस अभियानमा असफल भएको थियो भने जापानको सन् २००३ को प्रयासमा असफलता देखिएको थियो ।
राधाकृष्णनले भारतले चीनसँग प्रतिस्पर्धा गरेको भन्ने भनाइलाई अस्वीकार गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us