इराक आक्रमणमा ६५ को मृत्यु, अफगानिस्तानमा ११ लडाकूद्वारा आत्मसमर्पण

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ७:१६ मा प्रकाशित

बग्दाद, ११ कात्तिक–इराकको बग्दाद प्रान्तमा सिया मुसलमान समूदायको बाहुल्यता रहेको क्षेत्रमा आइतबार भएको शृङ्खलावद्ध कारबम विस्फोटमा परी  मृत्यु हुनेको सङ्ख्या  कम्तीमा ४१  पुगेको जनाइएको छ । इराकमा भएको अर्का एक आक्रमणमा २६ व्यक्तिको मृत्यु भएको छ ।
इराकमा भएको शृङ्खलावद्ध आक्रमणहरुमा कम्तीमा ६५ व्यक्तिको ज्यान गएको एएफपी समाचार समितिले जनाएको छ ।
राजधानी बग्दादको  छुट्टाछुट्टै दश वटा इलाकामा भएको आक्रमणहरूबाट ११० जना भन्दा बढी व्यक्ति घाइते भएका सुरक्षा र चिकित्सक  अधिकारीहरूले जनाएका छन् ।
सो आक्रमणहरु अत्यन्त प्रभावित उत्तरी बग्दादको साआबको छिमेकमा पर्ने इलाकाहरु र  बग्दादको बायाआ, बालादियात, मासताल, हुर्रियाद, डुरा र सावा अल– बुरामा रहेका  बताइएको छ । एएफपी समाचार समितिको तथ्याङ्कमा आधारित समाचारअनुसार यस बर्षको सुरुदेखि हालसम्ममा इराकमा भएका शृंखलाबद्ध आक्रमणहरुमा ५ हजार तीन सय व्यक्तिको मृत्यु भईसकेको छ ।
त्यसैगरी इराकमा यसै महिनामा मात्र हालसम्म भएका  बिभिन्न आतङ्ककारी आक्रमणहरुमा  ६५० भन्दा बढी व्यक्तिको मृत्यु भएको  अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानमा ११ लडाकूद्वारा आत्मसमर्पण
यसैगरी अफगानिस्तानको  पूर्वी  भागमा पर्ने नान्र्गाहार प्रान्तमा आइतबार  ११ जना सशस्त्र तालिवान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । एघार  सदस्यीय  तालिवान सशस्त्र लडाकूले हातहतियारसहित प्रान्तीय उच्चपरिषदका प्रमुख मालिक नाजिरसमक्ष आइतबार आत्मसमर्पण गरेका बताइएको छ  ।
अफगान सरकारले अफगानिस्तानमा चलिरहेको द्वन्द्व अन्त्यको लागि शान्ति र  मेलमिलाप प्रक्रिया सञ्चालन गर्न  ७० सदस्यीय उच्च शान्ति परिषदको  गठन गरेको छ । सोही प्रक्रिया अन्तरर्गत गत हप्तामा पनि ४० भन्दा बढी सशस्त्र तालिवान लडाकूले आत्मसमर्पण गरेका थिए । हिजो एघार तालिवानले गरेको आत्मसमर्पणपछि सशस्त्र तालिवानको तर्फबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us