कतै सुरक्षामा, कतै आचारसंहितामा कडाइ

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ११:२६ मा प्रकाशित

securityजनकपुरधाम । मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचन बिथोल्न विभिन्न ठाउँमा विभिन्न घटनाहरु भइरहेका बेला सम्बन्धित निकायले सुरक्षा अवस्थालाई मजबुद बनाउँदै गएको छ । उम्मेदवारमाथि हातपात, चुनावी सामाग्रीमा आगजनी लगायतका घटनाहरु सार्वजनिक भइरहँदा सीमा क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

निर्वाचनमा र निर्वाचनको समय अगाडि कुनै अप्रिय घटना हुन नदिन राजस्व एवम् भन्सार गस्ती सुरक्षा गुल्म जलेश्वरले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारणलाईसमेत कडाइका साथ जाँच गर्न थालिएको छ ।

निर्वाचनको शान्तिसुरक्षा प्रमुख चुनौती बन्न सक्ने भएकाले सीमावर्ती क्षेत्रमा रहेको भिठ्ठामोड लगायतका नाकाबाट ओहोरदोहोर गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनमाथि विशेष निगरानी राख्न थालिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गगन श्रेष्ठले बताए ।

आचारसंहिता पालनामा कडाई

उदयपुर– उदयपुर जिल्लामा निर्वाचन सम्बन्धि आचारसंहिता पालनामा कडाइ गर्न सुरु गरिएको छ । हालै जिल्ला निर्वाचन कार्यालय उदयपुर तथा निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता कडाइकासाथ पालना गर्न लगाउन अनुगमन समेत सुरु गरिसकेको छ ।

अनुगमन कडाई गरिएपछि सदरमुकाम गाईघाट बजारमा बिभिन्न पार्टीहरुले बजारका बिद्युतीय पोलमा र सार्वजनिक स्थानमा राखेका प्रचार सामग्री तुल,ब्यानरजस्ता बस्तुहरु हटाईएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ । गाईघाट बजारको ट्राफिक चौकमा ठुलो गेट बनाएर राखिएको संघीय समाजवादी पार्टीका ब्यानरहरु समेत सुरक्षाकर्मी र सम्बन्धित पार्टीका कार्यकर्ताहरुलाई हटाएका छन् ।

एक राजनीतिक दलका उम्मेदवारले दुई भन्दा बढी गाडी चुनावमा प्रयोग गर्न नपाउने नियम अनुसार अहिले उदयपुरमा ठुला राजनीतिक दलहरुले दुईवटा र कतिपयदलहरुले एउटामात्र गाडी प्रयोग गर्न थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us