यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाण्डु टुडे २०७० असोज १४ गते १८:२१ मा प्रकाशित

काठमाण्डु १५ असोज–‘ज्येष्ठ नागरिकको भनाइ नै, हाम्रो भविष्यको चाहना हो’ भन्ने मूल नाराका साथ मंगलवार मुलुकभर २३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले १९९१ मा १ अक्टोबर (२०७० असोज १५) लाई अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको घोषणा गरेपछि विश्वभरिका सदस्य राष्ट्रहरूले यो दिवस मनाउँदै आएका छन् ।
नेपालमा पनि विगतका वर्षझै नेपाल सरकार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र अन्य सरोकारवाल संघसंस्थाले संयुक्तरूपमा विविध कार्यक्रमका साथ ज्येष्ठ नागरिकको मानव अधिकार, आर्थिक सशक्तीकरण, सामाजिक प्रतिष्ठा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितताका लागि जनचेतना, जनजागरण गर्दै, मर्यादित र सम्मानित जीवनयापन गर्नका लागि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव सूर्यप्रसाद श्रेष्ठले मंगलवार ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले विभिन्न भजन र ¥यालीसहित पशुपति वृद्धाश्रममा ज्येष्ठ नागरिकसम्बन्धी संघसंस्था तथा व्यक्तिलाई सम्मान गर्न लागिएको जानकारी दिए ।
मानवीय स्वास्थ्यमा आएको सुधार तथा विभिन्न कारणबाट नेपालमा मानिसको सरदर आयुमा आएको वृद्धिले ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्ररूपमा वृद्धि भइरहेको छ । विसं २०४८ सालमा कूल जनसङ्ख्याको ४.६ प्रतिशत (करिब ११ लाख) ज्येष्ठ नागरिक रहेकामा २०६८ सालको जनगणनानुसार ८.१४ प्रतिशत रही जेष्ठ नागरिकको सङ्ख्या हाल करिब २५ लाख पुगिसकेको अनुमान छ ।
नेपालको जनसङ्ख्या वृद्धिदर १.४ प्रतिशत छ भने ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब ६ प्रतिशतका दरले उच्चरूपमा वृद्धि भइरहेको छ । नेपालमा वृद्धि भइरहेको जनसङ्ख्याको अनुपातमा आर्थिक वृद्धि, प्रतिव्यक्ति आय र सामाजिक सुरक्षाका सम्बन्धमा अपेक्षाकृत उपलब्धि प्राप्ति गर्न नसक्दा ज्येष्ठ नागरिकको आर्थिक अवस्था दिनानुदिन खस्किदै गइरहेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको बुझाइ छ ।
संयुक्त परिवारको संस्कृतिमा निर्माण भएको नेपाली समाजमा हाल आएर एकल परिवारको संस्कृतिले प्रश्रय पाएको कारणबाट सांस्कृतिक र सामाजिक विचलन देखापरेको छ भने समाज र घरपरिवारमा नै ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तन आएको छ । यसैले ज्येष्ठ नागरिकहरू ज्ञान र अनुभवका अमूल्य भण्डार हुँदाहुँदै पनि शान्तिपूर्वक र सम्मानजनक रूपमा बाँच्नको लागि विभिन्न समस्याहरू झेलिरहेका छन् ।
नेपाल सरकारका तर्फबाट ज्येष्ठ नागरिक ऐन, २०६३ सोको नियमावली २०६५ र ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना, २०६२ कार्यान्वयनमा ल्याइसकेको छ । उक्त नीतिगत व्यवस्थाअनुरूप राज्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, सरोकारवाला संस्था, सो सम्बन्धमा चासो र जिज्ञासु सर्वसाधारण सबैको पहलमा ऐनमा भएका व्यवस्थालाई कार्यान्वयनको स्थिति र हालसम्म भएको प्रगतिका बारेमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय जानकारीसमेत गराइयो ।
मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकको आर्थिक सशक्तीकरण गर्ने अभिप्रायले दिइँदै आएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई अझ सहज, सरल र पारदर्शी हुने गरी वितरण प्रणालीलाई बैंकिङ प्रणालीबाट वितरण गर्ने गरी थप सरलीकरणको व्यवस्था गरिएको छ । त्यसैगरी स्थानीयस्तरमा परिचालित स्थानीय स्रोत साधनको पहुँचमाथि ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चितता ऐनद्वारा नै व्यवस्था गरिनुका साथै ज्येष्ठ नागरिकलाई सरकारी तथा निजी बैंकिङ सेवामार्फत ज्येष्ठ नागरिक बचत खाता र उनीहरुका लागि मात्र व्याजदरमा वृद्धिजस्ता कार्यक्रमसमेत कार्यान्वयनमा आइसकेका सहसचिव श्रेष्ठको भनाइ छ ।
ज्येष्ठ नागरिकको सामाजिक अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय अवधारणाबमोजिम निःसहाय, असहाय, केही र कोही नभएका ज्येष्ठ नागरिकको उचित स्याहार सम्भार, भोजन र आवासको व्यवस्था, ज्येष्ठ नागरिक गृह (वृद्धाश्रम) पाँचै विकास क्षेत्रमा सञ्चालनमा ल्याइएका छन् ।
मन्त्रालयका अर्का उपसचिव पूर्णभक्त तन्डुकारले मन्त्रालयले समुदायबाट स्वतःस्फूर्तरूपमा सञ्चालित कतिपय वृद्धाश्रमलाई आर्थिक, प्राविधिक र प्रसशनिक सहयोग निरन्तररूपमा उपलब्ध गराइरहेको बताए । उनले भने “सामाजिक संरचनामा आएको परिवर्तनबाट नितान्त एकाङ्की जीवन बिताउन बाध्य भएका राम्रो आर्थिक अवस्था भएका ज्येष्ठ नागरिकको लागि निजी क्षेत्रसमेत यस विषयमा आकर्षित भएको महसूस मन्त्रालयलाई भइरेहको छ ।”
मन्त्रालयले ऐनमा भएको व्यवस्थाअनुसार ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा दुईजनाका लागि ५० प्रतिशत छुट र दुई वटा सिट आरक्षित गरी २०७० कात्तिक १ देखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि, २०७० बमोजिम कार्यान्वयन हुने व्यवस्था पनि गर्ने भएको छ ।
ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा गौरीशङ्करलाल दासले अब बन्ने संविधानमा निर्माण तथा अन्य विषयमा ज्येष्ठ नागरिकको अधिकार संरक्षण र सम्वद्र्धन गर्नको लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । सरकारले ज्येष्ठ नागरिकको लागि उपयुक्त नीति, कार्ययोजना, ऐन, नियमको तर्जुमा र त्यसको लागि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दासको भनाइ थियो । महासंघ विसं २०६० सालमा राष्ट्रिय जेष्ठ नागरिक सञ्चाल नेपाल हुँदै २०६८ सालमा ज्येष्ठ नागरिक महासंघको नामबाट चिनिएको थियो ।
ज्येष्ठ नागरिक अम्बिका केसीले हालै सम्पन्न संगठन तथा व्यवस्थापनको सर्वेक्षणबाट मन्त्रालयमा ज्येष्ठ नागरिकसम्बन्धी काम कारबाही गर्न उपसचिवस्तरको शाखा प्रमुख रहने गरी ज्येष्ठ नागरिक शाखाको स्थापना गरिए पनि सहि ढङ्गले काम अगाडि बढाउन नसकेको गुनासो पोखिन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us