मलेसियाबाट उद्धार गरिएका राईलाई नगद राहत

काठमाण्डु टुडे २०७० भदौ २७ गते ४:३२ मा प्रकाशित

खोटाङ । मलेसियाबाट उद्धार गरिएका खोटाङ बुईपा–६ का सागर राईले काठमाण्डुको रिक्रुटमेन्ट प्रालिबाट ६० हजार क्षतिपूर्ति लिएका छन् । स्वदेश फर्किए लगत्तै पिपुल्स फोरमको कानुनी परामर्श र सहयोगमा मुद्दा लडेर आफूलाई मलेसिया पठाउने मेनपावर कम्पनिबाट उनले क्षतिपूर्ति लिएका हुन् ।

सम्झौताविपरीत काममा लगाइएको, तोकिए जति तलब नदिएको, कार्यरत कम्पनीबाट निस्किएको रासायनिक पदार्थका कारण हातका नङ पाक्ने समस्याबाट बिरामी परेको भन्दै सागरका आफन्तले खोटाङस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रसमक्ष उनको उद्धारका लागि निवेदन दिएका थिए । पिपुल्स फोरमले निःशुल्क कानुनी परामर्श प्रदान गर्नुका साथै मेनपावरविरुद्ध मुद्दा लड्न सहयोग गरेपछि वैदेशिक रोजगार विभागमा मुद्दा हालिएको सागरले बताए । उनी गत वैशाख २३ गते नेपाल फर्किएका थिए ।

सामान प्याकिङको कामका लागि भन्दै रिक्रुटमेन्ट प्रालिले सागरसहित १३ नेपाली युवालाई गत चैत २९ गते मलेसियाको सिलाङगढ जिल्लाको सन्तोषास्थित रिभर स्टोन रिसर्च कम्पनीमा पुर्याएको थियो । तर, उनीहरुलाई सम्झौताविपरीत रासायनिक पदार्थ राखिएका भाँडाकुँडा तथा उपकरण पखाल्ने काममा लगाइएको सूचना केन्द्रका संयोजक नवीन्द्र राईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us