
काठमाण्डु, ७ भदौ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान सरकार खारेजी र ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगनको मागमा लचकता अपनाउन नसकिने बताएका छन् ।
काठमाण्डुको बानियाँटारस्थित आफ्नै निवासमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वेद्यले गोलमेच सम्मेलनमा पनि सरकार परिवर्तन र संविधानसभाको घोषित मिति नमान्ने स्पष्ट पारे । वैद्यले गैरराजनीतिक व्यक्तिहरु सम्मिलित वर्तमान सरकारले स्वच्छ र निष्पक्ष निर्वाचन गराउन नसक्ने भएकाले आफूहरुले दलीय नेतृत्वमा सरकार गठनको माग राखेको बताए । उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा पनि आफूहरुले सरकार विघटन र निर्वाचन स्थगनको माग जोडदार रुपमा राखेको वैद्यको भनाइ छ । उनले पुरानो अध्यक्ष समाप्त भइसकेको ठोकुवा गर्दै नयाँ अध्याय सुरु भइएको दाबी गरे ।
गोलमेच सम्मेलन नै निकासका लागि सबैभन्दा उपयुक्त विकल्प रहेको जिकिर गर्दै अध्यक्ष वैद्यले त्यसबाट कोही भाग्न नमिल्ने बताए । गोलमेच सम्मेलनमा विघठित संविधानसभामा रहेकाबाहेक आफू नेतृत्वको ३३ दलीय मोर्चामा रहेकालाई समेत सहभागी गराउनुपर्ने उल्लेख गरे ।