गएको वर्ष १० प्रतिशत मूल्यवृद्धि

काठमाण्डु टुडे २०७० साउन ३२ गते ३:५१ मा प्रकाशित

काठमाण्डु, ३२ साउन । सरकारले मूल्यवृद्धिलाई दोहोरो अंकमा जान नदिने प्रयास गर्दा गर्दै गत वर्ष १० प्रतिशत वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको वर्ष मूल्यवृद्धि ९ दशमलव ९ प्रतिशत भएको हो । आर्थिक वर्ष २०६८/६९ मा मूल्यवृद्धि ८ दशमलव ३ प्रतिशत थियो ।

गएको वर्ष खाद्यभन्दा अन्य वस्तुको मूल्य धेरै बढेर मूल्यवृद्धिमा चाप परेको हो । तथ्यांकअनुसार ०६९/७० मा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुको मूल्य ९ दशमलव ६ प्रतिशतले बढेको थियो । गैरखाद्य तथा सेवा समूहका वस्तुको मूल्यवृद्धि १० प्रतिशत पुग्यो ।

khadhya samagriखाने वस्तुमा सबैभन्दा बढी मासुको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार गएको वर्ष माछामासुको समूहमा पर्ने उत्पादनको मूल्य १४ दशमलव ४ प्रतिशतले बढेको थियो । चिनी तथा मिठाईको मूल्य पनि गएको वर्ष उल्लेख्य बढेको छ ।

गैरखाद्य वस्तुमा सबैभन्दा धेरै फर्निसिङ तथा घरायसी उपकरणको मूल्य बढेको छ । यो समूहमा रहेका वस्तुको मूल्य १३ दशमलव ३ प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षमा शोधनान्तर स्थिति ६८ अर्ब ९४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष यस्तो बचत १ खर्ब ३१ अर्ब ६३ करोड थियो । मुलुकको विदेशी मुद्रा सञ्चिति एक वर्षमा २१ दशमलव २१४ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षअघि योभन्दा ठूलो वृद्धि थियो ।

गएको वर्ष बैंक/वित्तीय संस्थाको निक्षेप १७ दशमलव ४ प्रतिशतले बढेको छ । यो १ खर्ब ७६ अर्ब रुपैयाँको वृद्धि हो । समीक्षा वर्षमा वाणिज्य बैंक र विकास बैंकको निक्षेप परिचालन क्रमशः १७ दशमलव ९ प्रतिशत र २७ दशमलव १ प्रतिशतले बढेको छ । वित्त कम्पनीको निक्षेप भने ९ दशमलव ६ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०६९/७० मा कर्जा लगानी भने १८ दशमलव ६ प्रतिशतले बढेको छ । यो १ खर्ब ८० अर्ब रुपैयाँको वृद्धि हो । ऋणको वृद्धिदरमा पनि विकास बैंकले वाणिज्य बैंकलाई जितेको छ । गएको वर्ष वाणिज्य बैंकको कर्जा १९ दशमलव १ र विकास बैंकको २३ दशमलव ३ प्रतिशतले बढेको थियो । वित्त कम्पनीको कर्जा ५ दशमलव ८ प्रतिशतले घटेको छ ।

एक वर्षमा राष्ट्र बैंकबाट अनुमति पाएका संस्थाको संख्या १२ वटा घटेको छ । गएको वर्ष अन्त्यमा अनुमति लिएका संस्थाको संख्या २ सय ५४ भएको छ । विभिन्न संस्था एक आपसमा गाभिएपछि सञ्चालनमा रहेका संस्थाको संख्या घटेको छ । जसमा वाणिज्य बैंक एक, विकास बैंक दुई, वित्त कम्पनी ११ वटा घटेका छन् ।

कान्तिपुर दैनिकबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us