प्रचण्डका पूर्वसुरक्षा प्रमुख राष्ट्रिय सेनाका मेजर

काठमाण्डु टुडे २०७० भदौ १२ गते १०:४१ मा प्रकाशित

करिब ६ वर्ष एकीकृत माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका रुकुम खोलागाउँका वीरेन्द्र बुढामगरले सोमबार नेपाली सेनाको उपसेनानी पदको दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।
वीरेन्द्र आधारभूत तालिम पूरा गरेका ७० जना पूर्वमाओवादी लडाकु मध्येका एक हुन् । दर्ज्यानी चिन्ह पाएका वीरेन्द्रसहितका अधिकृत अब तीन महिने व्रिजिङ कोर्षमा Birendra BM (2)सहभागी हुनेछन् । सैनिक प्रशिक्षण प्रतिष्ठान खरिपाटीमा सोमबार आयोजित विशेष समारोहमा रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्रिपरिषद् अध्यक्ष खिलारज रेग्मीले दर्ज्यानी चिन्ह प्रदान गरे । यसरी दज्र्यानी चिन्ह पाउनेमा यामबहादुर अधिकारीले महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी तथा वीरेन्द्रसहित १३ जनाले सेनानी, ३० जनाले सह–सेनानी र २४ जनाले उप–सेनानीको जिम्मेवारी सम्हाल्नेछन् । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित समारोहमा उनीहरुका परिवारजन र आफन्तको पनि बाक्लो उपस्थिति थियो ।

०६२–०६३ को जनआन्दोलनअघि र पछिको अवधिमा वीरेन्द्रलाई एकीकृत माओवादीले प्रचण्डको सुरक्षा गर्ने मुख्य जिम्मेवारी दिएको थियो । ०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु गत चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनाको मातहातमा थिए । उनीहरुको रेखदेख, पुनस्र्थापना र समायोजन गर्न गठित विशेष समिति औपचारिक रुपमा विघटन भएपछि पूर्वलडाकु नेपाली सेनाको मातहतमा तालिममा थिए । संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय दुई लडाकुमध्ये एक हजार चार सय २२ जना नेपाली सेनामा समायोजन भएका छन् । अनमिनको निगरानीमा रहँदै आएका शिविर र लडाकु उसको बहिर्गमनसँगै ०६७ माघ ८ गतेदेखि विशेष समिति मातहत ल्याइएको थियो । अनमिनको पहिलो सूचीकरणमा ३२ हजार दुई सय ५० लडाकु शिविरमा दर्ता भएका थिए । सरकार र माओवादीबीच ०६३ मंसिर २० गते भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौताअनुसार लडाकु हुनका लागि ०६३ जेठ ११ अघि भर्ती भएको र ०४५ जेठ १२ गतेभन्दा पहिले जन्मिएको हुनुपर्ने प्रावधान थियो ।

उपसेनानीमा असफल महासेनानीमा सफल

कुनैबेला नेपाली सेनाको उपसेनानीमा भर्ती भई राष्ट्रको सेवा गर्ने लक्ष्य बोकेका यमबहादुर अधिकारी सोमबारदेखि औपचारिक रुपमा सेनाको महासेनानी बनेका छन् । एकीकृत माओवादीका एक हजार चार सय लडाकुको नेतृत्व गर्दै नेपाली सेनामा समायोजित भएका अधिकारी त्यस्ता व्यक्ति हुन्, जसले संघर्षका कुनै क्षण नभोगेको होस् ।

OLYMPUS DIGITAL CAMERAउत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोराका रुपमा ०२९ असार १ गते जन्मिएका अधिकारीले ०४६ सालमा द्वित्तीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । अधिकारी ०४६ सालको जनआन्दोलनपछि क्याम्पस पढ्न काठमाण्डु आए । काठमाण्डु आउनुअघि नै उनी तत्कालिन अखिल छैठौंको धादिङ जिल्ला सदस्य थिए । प्रवीणता प्रमाणपत्र तहको पढाइका लागि काठमाण्डुको पिपल्स क्याम्पसमा भर्ना भएपछि उनी आर्थिक संकटमा परे । पढ्ने खर्च जुटाउन उनले पर्यटन व्यवसायी ज्योति अधिकारीले सञ्चालन गरेको ठमेलस्थित ग्रीनलिप्स रेष्टुरेण्टमा काम गर्न थाले । त्यो कामप्रति सन्तुष्ट हुन नसकेपछि उनले काठमाण्डु–पोखरा रुटमा चल्ने स्वीस ट्राभल्समा टुरिष्ट गाइडको रुपमा पनि काम गरे ।

प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि पार्टीले उनलाई धादिङ बोलायो । विद्यार्थी संगठनको अध्यक्षको जिम्मेवारी दियो । त्यससँगै उनले आफैंले विद्यालयतहसम्म अध्ययन गरेको निरञ्जना मावि मार्पाकमा ०४७ वैशाख १ देखि ०४८ फागुन २० सम्म अँग्रेजी विषय पढाए । त्यतिबेला पनि उनी माओवादी धादिङ् जिल्ला सदस्य थिए । ०५१ सालदेखि शिक्षण पेशा छाडेर उनी पार्टीमा पूर्णकालीन भएर काम गर्न थाले । पार्टीमा काम गरिरहेकै बेला ०५९ मा पोखरामा उनी पक्राउ परे । कम्पनी कमाण्डर हिराकाजी प्याकुरेलको सहायक कमाण्डरका रुपमा अधिकारीले काम गरेका थिए । प्याकुरेल पक्राउ परेपछि उनले नै अधिकारीलाई बोलाएर पक्राउ गराएका थिए । अधिकारीलाई नेपाली सेनाले धादिङस्थित गजुरी ब्यारेकमा ल्यायो । सेनाले अधिकारीलाई हेलिकोप्टरमा राखेर धादिङको उत्तरी क्षेत्रमा माओवादी पक्राउन पनि लग्यो ।

वर्षातका बेला पानी परिरहेको थियो । सेनाको पहरामा हतकडीसहित दिसा गर्न उनी झाडीतिर लागे । उनलाई पहरा दिएर बसेका सेना हेरेको हेर्‍यै भए, अधिकारी फरार भए । सेनाबाट फुत्किएपछि अधिकारीले गण्डक क्षेत्रमा कमजोर हुँदै गएको सैन्य संगठनलाई बलियो बनाए । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका छन् ।

०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा सहायक कमाण्डर रहेका अधिकारी माओवादीले कमाण्डर गणेशमान पुनलाई वाइसीएल अध्यक्ष बनाएर काठमाण्डु ल्याएपछि स्वत कमाण्डर भएका थिए । डिभिजनमा कमाण्डर फेरबदल हुँदा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हाल्न पुगेका थिए । थोरै बोल्ने,मृदुभाषी अधिकारी सकेसम्म अरुको चित्त दुखाउन चाहदैनन् । ०६१ मंसिर १ धादिङको कृष्णभीरमा नेपाली सेनासँगको भिडन्तमा माओवादी सेनाको बासु स्मृति चौथो ब्रिगेडका कमाण्डर थिए । नेपाली सेनाका जवानलाई नियन्त्रणमा लिएर स्थानीय पत्रकारलाई जिम्मा लगाएपछि उनी राष्ट्रिय चर्चामा आएका थिए । उपनाम प्रतीक्षा रहेका उनलाई कतिपय सञ्चारमाध्यमले समेत महिलाका रुपमा प्रचार गरे ।

सशस्त्र संघर्षकै बेला एकअर्कोलाई मन पराएर बिहे गरेकी श्रीमती सरस्वती पाण्डे ‘सीमा’ चितवन जवाङखोलामा नेपाली सेनासँगको भिडन्तमा मारिइन् । शान्ति प्रक्रियापछि उनले नवलपरासीकी तारा कुमालसँग एकीकृत माओवादीको मुख्यालय पेरिसडाँडामा प्रचण्ड, बाबुरा भट्टराईसहितका नेताहरुलाई साक्षी राखेर बिहे गरेका थिए । पूर्व माओवादी कार्यकर्ता तारा पेशाले स्टाफ नर्स हुन । प्रत्येकपटक घर जाँदा अधिकारी धादिङको आगिञ्चोकस्थित पूरानो ससुराली पुग्ने गर्छन् ।
दाजुभाई नै अधिकृत
Basudev-and-Madhav-Ghimireदाजुभाई बीचको सम्बन्ध न टाढाको हुन्छ न नजिकको । उनीहरु भmगडा गर्दागर्दै मिल्छन् र मिल्दामिल्दै झगडा गर्छन, अन्ततः दाजुभाई मिल्छन् । जन्मदै कम्युनिष्ट भएर प्युठानमा जन्मिएका बासुदेव घिमिरे र माधव घिमिरे त्यस्ता दाजुभाई हुन् जो सशस्त्र संघर्षका बेला सँगै लडे, अहिले पनि सँगै राष्ट्रिय सेनामा रुपान्तरित भए । प्रमुख सेनानी हुने पक्का भएका बासुदेव र सेनानीको लाइनमा रहेका माधव सहोदर दाजुभाई हुन् ।

दाई सेनामा, भाई वैद्यको पार्टीमा

एकीकृत माओवादी विभाजन हुँदा श्रीमान् श्रीमती र दाजुभाई फरकफरक पार्टीमा लागेका छन् । आफन्त गुमाएका नेता कार्यकर्ता फरक पार्टीमा लाग्दा पारिवारिक अप्ठ्यारो आएका घटना पनि छन् । १० वर्षे सशस्त्र संघर्षका बेला बुबा, दिदी र एक बहिनी गुमाएका वीरेन्द्रका एक मात्र भाई डिकम बुढामगर ‘विप्लव’भने एकीकृत माओवादीबाट विभाजन भई गठन भएको नेकपा–माओवादी दाङका प्रभावशाली नेता छन् ।

युद्धका बेला बालुवामा नक्सा रेखाङ्कन, भौगोलिक अवस्थाको सर्भे र हतियार निर्माणमा विशेष दख्खल राख्ने वीरेन्द्रले सशस्त्र युद्धका बेला अधिकांश सेनाका व्यारेक र प्रहरी चौकीको सर्भे गरेका थिए । त्यही गोप्य सर्भे रिपोर्टका आधारमा कहाँबाट र कसरी हमला गर्ने भन्ने योजना बनाइन्थ्यो ।

वीरेन्द्रले ब्राम्हण समुदायकी ईश्वरीसँग बिहे गरेका छन् । दाङ घोराहीस्थित तत्कालीन महेन्द्र क्याम्पसमा अध्ययनका क्रममा उनीहरुबीच चिनजान भएको थियो । पछि दाङ देउखुरीको गोवरडिहा गाविस–७ धैरेनीमा उनीहरुको प्रगतिशील विवाह भयो । अधिकांश माओवादी नेताका छोराछोरी निजी विद्यालय पढ्ने गरे पनि वीरेन्द्रले आफ्ना दुई छोरीलाई ललितपुरको एक सरकारी विद्यालयमा पढाएका छन् । उनले सुर्खेतबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका छन् । घोराहीमा स्नातकतह पढ्दापढ्दै उनी भूमिगत भई माओवादीमा सक्रिय रुपमा लागेका हुन् । पार्टीमा मञ्जिल नामले परिचित छन् । २०५४ सालमा सल्यानको थारमारेबाट पक्राउ पर्दा वीरेन्द्रले आफूलाई अदुवाको सुठो र टिम्मुर व्यापारीका रुपमा चिनाएका थिए । जिल्ला प्रहरी कार्यालय घोराहीको हिरासतबाट वीरेन्द्रले एउटा पत्र प्रहरीहरुकै सहयोगमा गोप्यरुपले ससुरालीसमक्ष पुर्‍याउन सफल भएका थिए । उनका ससुरा शिक्षक थिए, श्रीमती त्यतिबेला गर्भवती थिइन् । प्रहरीले बोलाएका बेला हाजिर हुने सर्तमा बेलुका सात बजेतिर वीरेन्द्र हिरासत मुक्त भएका थिए । भरपर्दो र विश्वासिलो कमाण्डर पाएपछि माओवादी अध्यक्ष प्रचण्डले वीरेन्द्रको ससुरालीलाई मौखिक सन्देश पठाए ‘जनयुद्धको कुशल योद्धामध्येका एक मन्जिललाई सकुशल रिहा गराउन सफल भएकोमा पार्टीको तर्फबाट धन्यवाद । अनि बधाई पनि ।’ हिरासतमा पाएको यातनाले उनी हिँड्न नसक्ने अवस्थामा थिए ।
Ram-Bahadur-Lama-and-Bimala-Pant-Lamaश्रीमान श्रीमती नै सेनामा
‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भनेर गुरुप्रसाद मैनालीले श्रीमान श्रीमतीबीचको झगडालाई सामान्यीकरण गरे पनि श्रीमान श्रीमती छुट्टिएर सामाजिक विघटनको अवस्था सिर्जना हुँदै गएको छ । दुःखसुखमा साथ दिने कसम खाएर बिहे गरेका श्रीमान श्रीमती ससाना विषयमा झगडा गरी सम्बन्ध विच्छेद गरेर एकअर्काका पराई बन्न पुगेका घटना समाजमा प्रशस्त छन् ।

बन्दुकलाई साक्षी राखेर कहिल्यै नछुट्टिने प्रण गर्दै विवाह बन्धनमा बाँधिएका काभ्रेका रामबहादुर लामा र विमला पन्तले सशस्त्र संघर्षमा सँगसँगै लडाईं लडे । सशस्त्र संघर्षका बेला बिग्रेड कमाण्डर लामा र सहायक कमाण्डर पन्त अहिले सँगसँगै राष्ट्रको सेनामा रुपान्तरित भएका छन् । सेनानीको दज्र्यानी चिन्ह पाएका लामा र पन्त श्रीमान श्रीमती हुन् ।

उत्कृष्ट

समायोजनपछिको तालिममा पुरुषतर्फ बाजुरा साप्पाटाका केशवराज धामी र महिलातर्फ सोलुखुम्बु कागेलकी विनाकुमारी बस्नेत उत्कृष्ट भएका छन् । धामीलाई सोर्ड अफ अनर र बस्नेतलाई उत्कृष्ट महिला अधिकृत क्याडेट केन प्रदान गरिएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us