काठमाडौं- नवनियुक्त मन्त्री महावीर पुनले तत्कालका लागि मन्त्रालयमै बस्ने बताएका छन् ।
सरकारी क्वार्टर उपलब्ध हुने अवस्था हाललाई नरहेको आफूलाई थाहा भएको भन्दै उनले मन्त्रालयमै बसेर काम अघि बढाउने निर्णय गरेको स्पष्ट पारे ।
मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले मन्त्रालयमै बस्ने र त्यहीँबाट काम गर्ने बताए ।
‘यहीँ सुत्ने हो, यहीँ बस्ने हो । सरकारले क्वार्टर दिएपछि जाने हो । अहिले तुरुन्तै क्वार्टर दिने अवस्था छैन भन्ने मलाई थाहा छ,’ उनले भने, ‘क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने खुसी हुन्छु । जाँगर चले काम गर्ने हो, नत्र सुत्ने हो । फेरि जाँगर चल्यो भने उठेर काम गर्ने हो । मेरो तरिका यस्तै हो ।’
उनले आफू लामो समय मन्त्री पदमा नबस्ने पनि बताएका छन् । अधिकतम तीन वर्षभित्र जिम्मेवारी पूरा गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।
‘मैले प्रधानमन्त्रीज्यू र जनतालाई भन्छु— म धेरै बस्दिनँ, बढीमा तीन वर्ष बस्छु । ५–६ वर्षमा हुने काम तीन वर्षमै सकेर राम्रो आधार बनाएर युवालाई दिने हो,’ उनले भने, ‘देश बनाउने भनेकै युवालाई जिम्मा दिने हो । म पनि ७२ वर्षको युवा हो, अहिले पनि ३० वर्षको जोश–जाँगरमा छु ।’