विवाद र झडपपछि रास्वपा मधेश प्रदेशका सबै जिल्ला अधिवेशन स्थगित

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ ।

आज (मंगलबार) रास्वपाले सूचना जारी गर्दै आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै गतिविधि रोकिएको जनाएको हो ।

सूचना अनुसार प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख पुष्पन केसीद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख छ ।

पछिल्लो समय नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि आयोगले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us