राप्रपाले पनि माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १३:५८ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामाको माग गरेको छ ।

आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन ।

राप्रपा सांसद वलीले भनिन्, ‘नैतिकता र निश्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ ।’ संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।

अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ । अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।

संसद पेस गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ । संसद्का जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ ।

संसद्‍मा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसद्‍मा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us