कारमार्फत युवती सप्लाइ गरी यौनधन्दा, १२ युवतीसहित १६ जना समातिए

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १६:४७ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– प्रहरीले कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको गरीएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त गौशालाको टोलीले गौशाला क्षेत्रमा अवैध रूपमा यौनधन्दा चलाएको आरोपमा अपरेशन गरेर १६ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने चार पुरुषहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भएका ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका–८ घ भएका २८ वर्षीय विवेक स्याङ्तान, काठमाण्डू–९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका–२ का ३३ वर्षीय विकास भुलन छन् ।

त्यस्तै यौनधन्दामा लागेका १२ युवतीहरू पनि पक्राउ परेका छन् । उनीहरूबाट युवती सप्लाई गर्न प्रयोग भएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार, बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समूहले फेसबुक, इन्टाग्राम, ह्वाट्स एप, टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत ग्राहक खोज्ने र मोलमोलाई गरेर रकमका कुरा मिलेपछि उनीहरूले भनेको ठाउँमा युवती सप्लाई गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत नै युवतीका तस्वीर, भिडियोहरू ग्राहकलाई देखाउने र रकमको बार्गेनिङ गरेर कुरा मिले अहिले बरामद भएको कार तथा ट्याक्सीमार्फत युवती सप्लाई हुने गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले विशेषगरी गौशाला क्षेत्रका होटलमा युवती सल्पाइ गर्ने गरेको प्रहरी बताउँछ ।

अहिले पक्राउ परेका विकास भुलन व्यक्ति समेत होटल सञ्चालक हुन् । विवेक स्याङ्तान ट्याक्सी ड्राइभर हुन् भने राजकुमार गौतम कार साहु हुन् । अर्का सुनिल तामाङ भन्ने व्यक्ति ग्राहक खोजी गर्ने व्यक्ति हुन् । उनीहरूले प्रतिग्राहक करिब १० हजार रुपैयाँसम्म लिएर युवतीहरु सप्लाई गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट बरामद मोबाइलमा यौनधन्दाका विषयमा गरेका कुराकानीहरू, रकमको बार्गेनिङ गरेका विषयहरू भेटिएका छन् । पछिल्लो समय काठमाण्डूमा उपत्यका कारमार्फत युवती सप्लाई हुने गरेको देखिएको छ । यसअघि पनि गौशाला क्षेत्रबाटै यस्तै प्रकृतिको घटना भएको थियो ।

आफ्नै कारमा राखेर युवतीहरू सप्लाई गर्दै उपत्यकाका विभिन्न होटलहरूमा पु‍र्‍याउने र मोटो रकम असुल्ने गरेको पाइएपछि प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई बूढानलीकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

गत २० मंसिरमा पक्राउ परेका उनले अहिले जस्तै गरी आफ्नै कारमार्फत युवती सप्लाइको धन्दा चलाएका थिए । कार्कीले ठमेल, गौशाला, गोंगबु तथा एअरपोर्ट अगाडिका होटलहरूमा युवती सप्लाई गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिदेखि होटलकै स्टाफहरूसँग सम्पर्क गर्ने गरेका थिए । उनले होटलसँग सम्बन्धित व्यक्ति र युवतीसँग पनि सम्पर्क गरी बीचमा बसेर काम गर्ने गरेको पाइएको प्रहरीले बताएको थियो । अहिले पनि त्यही शैलीमा काम भएको प्रहरीले बताएको छ । कार्कीलाई पक्राउ गर्दा उनको मोबाइलमा ५० युवतीहरूको तस्वीरसमेत भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us