काठमाण्डू, २६ जेठ– कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताएका छन ।
आज (मंगलबार) गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन । उनले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उनले भने, ‘रास्वपाभित्र के हुन्छ के हुँदैन रु त्यो हाम्रो सरोकारको विषय होइन । पाँच बर्ष उहाँहरुले सरकार चलाउन पाउनुभएको छ, उहाँहरुले सरकार चलाउनुहुन्छ । तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, देशको संविधानले सरकार चल्छ ।’
देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको उनले स्पष्ट पारे । राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको उनको भनाइ थियो ।
०४६ सालयता सरकारमा रहेका र प्रतिपक्षमा बसेकाहरुले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसकेको उनको आरोप छ । सत्तामोहका कारण समस्या भएको उनले जिकिर गरे ।
सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन हुनुपर्ने विषय कांग्रेसले पहिलै देखि उठाउँदै आएको र त्यसमा सहयोग गर्न आफूहरु सदैव तयार रहेको उनले बताए ।
‘सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर हामीले पनि पहिलैदेखि भन्दै आएका थियौँ,’ उनले भने, ‘अहिलेको सरकारले सुरुवात गरेको छ, हामी छानबिनका लागि खुला छौँ, सहयोग गर्छौँ ।’