न्याय माग्दै रास्वपा कार्यालय पुगे जेनजी अभिभावक, प्रहरीले लगायो रोक

काठमाण्डु टुडे २०८३ जेठ २६ गते १३:५१ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावकहरु सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्यालयमा पुगेका छन ।

तर रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्न उनीहरुलाई दिइएन । ती अभिभावकहरुले आफ्ना कुरा राख्नेगरी कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले रोक लगाएको छ । जेनजी आन्दोलनकै जगमा दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको रास्वपाले आफ्ना सन्तानलाई न्याय दिनुपर्ने उनीहरुको माग रहेको छ ।

‘उहाँहरुलाई कसैले यहाँबाट बोलाएकै कारणले आउनु भएको रहेछ, तर अहिले प्रहरीले बाहिरै रोकेका छन्,’ जेनजी अगुवा रिजन रानामगरले भने ।

पक्राउ परेका अमिर गुरुङ, निकेश विक, युनिक श्रेष्ठ, मिलन खत्री, विनोद कार्की, मिलन तामाङ, अभिषेक बस्नेत लगायतका अभिभावकहरु रास्वपा कार्यालय पुगेका छन् । प्रहरीले रोकेपछि उनीहरुले आफूहरु न्याय माग्न यहाँ आएको भन्दै कार्यालय प्रवेश गर्न पाउनुपर्ने माग समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us