एउटै दम्पतीको १२ पटक सम्बन्ध विच्छेद

काठमाण्डु टुडे २०८१ पुष २२ गते १८:०८ मा प्रकाशित

एजेन्सी– अष्ट्रियाको ग्राज सहरमा एउटा दम्पतीले सम्बन्ध विच्छेद गर्ने दम्पतीलाई सरकारले दिने रकमको लोभमा एक आपसमा १२ पटक सम्बन्ध विच्छेद गरेका छन् । ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स गरेको खुलेको छ । भियना प्रहरीले अहिले यो अनौठो घटनाको अनुसन्धान सुरु गरेको छ ।

विधवा महिलालाई सरकारी दिने जिवन निर्वाह भत्ता अर्थात् एकल महिला पेन्सन बापतको वार्षिक करिब ३० हजार युरो पाउनका लागि उक्त दम्पतीले एक आपसमा श्रृंखलाबद्ध डिभोर्स गरेको हो ।पहिलो पतिको सन् १९८१ मा मृत्यु भएपछि ती महिलाले उक्त भत्ता पाउन थालेकी थिइन् ।

पहिलो पतिको मृत्यु भएको अर्को वर्ष नै दोस्रो बिहे गरेता पनि विधवाको रुपमा पाउने पेन्सलाई खाइराख्नका लागि उनले त्यसयता लगालग दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी छन् । अष्ट्रियन कानून अनुसार विधवा महिलाले दोस्रो बिहे नगरेसम्म उक्त जिवन निर्वाह भत्ता प्रयोग गर्न पाउँछिन् । साथै उनले हरेक अढाई वर्षमा आफ्नो वार्षिक विधवा पेन्सनको साढे दुईगुणा रकम पाउने गर्थिन् ।

त्यसले उनको दोस्रो पतिसँग उनले प्रत्येक तीन वर्षमा कागजी डिभोर्स गर्ने गरेको खुलासा भएको छ । उक्त पेन्सन रकम हात पारेपछि भने उनीहरुले पुनः बिहे गर्थे। तर, उक्त ठग दम्पतीको ठगी धन्दा सन् २०२२ को मे महिनामा मात्रै चर्चामा आयो । आफ्नो दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी ती महिलालाई पेन्सन विमान संस्थानले विधवा पेन्सन दिन अस्वीकार गरेपछि यो विषय सार्वजनिक भएको हो ।

त्यसपछि गरिएको अनुसन्धानले उक्त दम्पतीले पेन्सन लिनका लागि हरेक पटक डिभोर्स गर्ने र हरेक ३ वर्षमा बिहे गर्ने गरेको देखाएको छ ।अनुसन्धान अनुसार उक्त दम्पती ग्राज सहरमा एउटै घरभित्र वर्षौंदेखि सँगै बस्ने, सँगै खाने तथा सँगै सुत्ने गरेका छन् ।छिमेकीहरुलाई उनीहरुले डिभोर्स गर्ने र पुनः बिहे गर्ने गरेको थाहै थिएन । वास्तवमा छिमेकीहरुले उनीहरुलाई कहिल्यै नछुट्टिने नमुना जोडीको रुपमा लिन्थे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us