दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु

काठमाण्डु टुडे २०८१ जेठ १७ गते १४:०८ मा प्रकाशित

काठमाण्डु,  १७ जेठ– नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न सुरु गरेको छ । वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिएका छन ।

पिक समयमा नेपालभित्रको खपत पनि २ हजार मेगावाट पुगेको छ । सात÷आठ वर्षअघि दैनिक विद्युत् खपत एक÷डेढ करोड युनिट हाराहारी रहेकोमा अहिले बढेर साढे ४ करोड युनिट पुगेको समेत उनले जानकारी दिएका छन ।

आन्तरिक माग पूरा गरी अतिरिक्त १ हजारदेखि १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात गर्ने लक्ष्य राखिएको उनको भनाइ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us