प्रचण्ड र ओलीसँग भेटेपछि रविले भनेः प्रश्न उठेपछि बोल्न पाउनुपर्छ

काठमाण्डु टुडे २०८१ जेठ २ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, २ जेठ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद‌्‌मा त्यसको जवाफ दिन पाउनुपर्ने बताएका छन ।

आज (बुधवार) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता पछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताएका छन ।

गृहमन्त्री लामिछानेले भेटवार्ता पछि सञ्चारकर्मीसँग भने, ‘ निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे । सदन र सडकमा पनि गाली गलौच नै चल्यो’, लामिछानेले सञ्चारकर्मीसँग भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्‍यो । त्यो अधिकार पनि हो ।’

उनले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताए । ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ ।

नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ । ’ संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म संसद् अवरोध जारी राख्ने बताउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us