एमाले पूर्वसांसद तामाङलाई तीन वर्ष कैद र पौने २ अर्ब जरिवाना

काठमाण्डु टुडे २०८० माघ २१ गते १९:४८ मा प्रकाशित

काठमाण्डु, २१ माघ– एमाले पूर्वसांसद एवं सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका छन् । विशेष अदालतले तामाङलाई आइतबार दोषी ठहर गर्दै एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङको सजाय निर्धारण गरेको हो । यस्तै विशेषले तामाङ पत्नी श्रृजना शाक्य तामाङबाट पनि झण्डै एक अर्ब जरिवाना असुल्न आदेश दिएको छ ।

तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैंया बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद तथा पत्नी श्रृजनालाई एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैंया जरिवाना र एक वर्ष ६ महिना नै कैद सजाय तोकिएको विशेष अदालतका प्रवक्ता उप–रजिष्टार धनबाहादुर कार्कीले जानकारी दएि । तामाङ दम्पत्तिविरुद्ध सिभिल सहकारी ठगी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले मुद्धा दायर गरेको थियो । उनीहरुमाथि बचतकर्ताको करोडौं रकम ठगेको आरोप अभियोगमा मुद्धा चलाइएको हो ।

सोही सहकारी घोटालाका अर्का अभियुक्त तामाङका मामाससुरा केशवलाल श्रेष्ठविरुद्ध विशेषले २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ जरिवाना र डेढ वर्ष कैद सुनाएको छ । उनीहरुलाई गत ७ माघमा विशेष अदालतले दोषी ठहर गर्दै आइतबारका लागि समय निर्धारणको समय तोकेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले २०७९ भदौमा तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख र श्रीमती श्रृजनाविरुद्ध १ अर्ब तीन करोडभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारी ठगीको अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा ठगी तथा संगठित अपराधमा कारबाहीको माग गर्दै काठमाण्डु जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दासमेत आकर्षित भएको भन्दै सम्पत्ति सुशीकरण विभागले उक्त मुद्धामा हात हालेको थियो । अदालतले जरिवाना असुलीका लागि इच्छाराजसहित सिर्जना, केशवलाल, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत गर्ने फैसला भएको छ ।

२०५५ मा सिभिल सहकारी स्थापना गरी संस्थापक अध्यक्ष बनेका तामाङले पछि सिभिल ग्रुप बनाएर हाउजिङ र घरजग्गा कारोबार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us