भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १० गते १६:२५ मा प्रकाशित

काठमाण्डु,१० चैत– भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्की रहेकी छन ।

शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले जानकारी दिएका छन ।

दुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको उनले जानकारी दिएका छन । उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us