चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै, प्रदर्शनकारीद्धारा राष्ट्रपति सि जिनपिङको राजिनामा माग

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १४:०९ मा प्रकाशित

एजेन्सी– चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शनमा सहभागी केही प्रदर्शनकारी हरु पक्राउ परेका छन् ।

आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले बताएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन अहिले चीनका अन्य शहरमा पनि फैलिएको छ ।

विरोध प्रदर्शन सरकारको शुन्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सि जिनपिङको राजिनामासमेत मागेका छन् । चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै खतरनाक मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us