काँग्रेस र माओवादीबीच मिलेर सरकार बनाउने सहमति

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– काँग्रेस र माओवादी केन्दबीच मिलेर सरकार बनाउने सहमति भएको छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको थियो ।

दुई शीर्ष नेताबीच ४ मंसिरको निर्वाचनपछि पहिलोपटक भेटेर संवाद भएको हो । श्रोतका अनुसार देउवा र प्रचण्डबीच राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सहमति भएको छ ।
निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि सत्ता गठबन्धनमा हरेका काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले साँघुरो बहुमत प्राप्त गर्ने संकेत देखिएको छ ।
भेटमा राष्ट्रिय राजनीतिमा उत्पन्न चुनौती, सरकार गठन, निर्वाचन परिणामलगायत विषयमा छलफल भएको दुवै नेताका सचिवालयले जनाएका छन् ।

काँग्रेस मतदाताबाट गठबन्धनका उम्मेदवारलाई भोट ट्रान्सफर नभएको भन्दै एमालेसँगको सहकार्यबारे पनि ढोका खुला राख्नुपर्ने माओवादीभित्र बहस सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीले बिहीबार माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी गोरखा–२ बाट निर्वाचित भएकामा बधाई दिएका थिए ।

त्यस क्रममा ओलीले कम्युनिष्ट आन्दोलनका अगाडि संकट उत्पन्न भएको भन्दै बसेर छलफल गर्नुपर्ने समय आएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us