गगन थापा प्रधानमन्त्री बन्ने घोषणा !

काठमाण्डु टुडे २०७९ मंसिर ९ गते २२:४६ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– काँग्रेस महामन्त्री गगन थापाले अबको प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् ।

काठमाण्डु–४ बाट भारी मतान्तरसहित तेश्रोपटक चुनाव जितेका थापाले शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला तयार हुनुपर्ने उनको भनाइ थियो ।

थापाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै तीनै जना नेतालाई भेटेर आफूले प्रधानमन्त्रीका लागि सघाउन आग्रह गर्ने उल्लेख गरे । संसदीय दलको नेतामा आफू चुनाव लड्ने उदघोष गरेका उनले तत्कालका लागि प्रतिकुल भए पनि अन्तिम परिणाम आउने बेलासम्म परिस्थिति अनुकुल हुने विश्वास व्यक्त गरे ।

थापाले कांग्रेसले सरकारमा नयाँ अनुहार नदिए नयाँ पुस्ता पार्टीप्रति आकर्षित हुन नसक्ने तर्क गरे । ‘कांग्रेसले सरकार चलाउँदै गर्दा उहाँहरूले नै सरकार चलाउनुपर्ने बाध्यता छैन किनकी हामीहरू तयार भइसक्यौं,’ थापाले भने, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ । म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु ।’

थापाले संसदीय दलको नेता चुन्न र प्रधानमन्त्रीका लागि तयार बनाउन पार्टीका सांसदलाई अपिल गरे ।

कांग्रेसको भविष्य र मतदाताले खोजेको परिवर्तनका लागि आफू प्रधानमन्त्री बन्नैपर्ने जिकिर उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us