निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७९ असोज १९ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, १९ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बडादशैंका अवसरमा बुधबार शुभकामना दिँदै निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने विश्वास व्यक्त गरेका छन् । निर्वाचन सफल पार्ने सरकारको प्रयासमा सबै राजनीतिक दल, आमनागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

ताजा जनादेशबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास उनको थियो ।

देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने उल्लेख गरे ।

समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गरेका छन् ।

दशैंको अवसरमा प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामनासमेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us