जब पोखरीमा डुबेको एउटा बाँदर बचाउन खोज्दा २७ बाँदर मरे…

काठमाण्डु टुडे २०७९ असोज १६ गते १२:०७ मा प्रकाशित

अर्घाखाँची, १६ असोज– अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।

सन्धिखर्क–९ अर्घास्थित सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us