प्रचण्ड चितवन–३ छाडेर गोरखा जाने हल्लाले रेणु दाहाल असन्तुष्ट

काठमाण्डु टुडे २०७९ असोज १५ गते १४:४४ मा प्रकाशित

चितवन, १५ असोज– भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आफ्ना पिता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन–३ बाट चुनाव उड्न हुँदैन भन्ने सुझाव दिनेहरुप्रति असन्तुष्ट छिन् ।

प्रचण्डले पटकपटक आफू चितवन–३ बाटै चुनाव लड्ने बताउँदै आएका छन् । तर, माओवादीभित्रैको एक पक्ष भने चितवन काँग्रेसमा ठूलो विद्रोह हुन सक्ने कारण देखाएर प्रचण्डलाई गोरखाबाट चुनाव लडाउन सक्रिय छ ।

माओवादी गोरखाले एक मतले प्रचण्डको नाम गोरखा–१ बाट सिफारिस मात्र गरेको छैन, त्यसका लागि गोरखाका माओवादी नेताहरु लबिङसमेत गरिरहेका छन् । तर, रेणुसहित चितवनको सिंगो माओवादी पंक्ति भने प्रचण्डले चितवन–३ छाड्नै नहुने अडानमा छ ।
‘प्रचण्डले चितवन–३ छाड्ने कुरा कल्पनासम्म गर्न सकिँदैन’, माओवादी चितवनका संयोजक रामचन्द्र अधिकारी (आरसी) भन्छन्, ‘चितवनका जनता प्रचण्डलाई जिताउन आतुर छन् ।’

उनले काँग्रेस मात्र नभई एमाले, राप्रपा र अरु दलका कार्यकर्ता र मतदाताले समेत आफूहरुलाई प्रचण्डलाई अन्त नपठाउन खबरदारी गरिरहेको अधिकारीले बताए । प्रचण्ड र रेणु भए मात्र चितवनको विकास हुन्छ भन्ने मनोविज्ञान आममतदाताको रहेको अधिकारीले बताए ।

रेणुले शुक्रबार सामाजिक सञ्जालमार्फत सांकेतिक रुपमा प्रचण्डलाई गोरखा लानुपर्ने भन्ने पार्टीकै कतिपय नेताहरुको प्रस्तावप्रति असन्तुष्टि झल्किने गरी आफ्नो धारणा सार्वजनिक गरेकी छन् । ‘चितवनको विकासबाट अत्तालिएकाहरू, परिवर्तनका विरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन । चितवनबासी जनसमुदायहरू होसियार होऔं’, उनले भनेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us