रुकुमश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

काठमाण्डु टुडे २०७९ भदौ १२ गते २२:०८ मा प्रकाशित

रुकुमपश्चिम, १२ भदौ– रुकुमपश्चिममा पहिरोमा परी पुरिएर आमाछोरीको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा पहिरोमा परी जाजरकोट भेरी नगरपालिका–१ का आमाछोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया बालमती राना र उनकी छोरी दुई वर्षीया प्रतीक्षा रहेको जाजरकोटका प्रमुख जिल्लाअधिकारी रामबहादुर शाहीले काठमाण्डुटुडेलाई जानकारी दिए । बालमतीकै अर्की छोरी १२ वर्षीया तिर्सना घाइते छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

नलगाड नगरपालिका–१ स्थित माइतीघरमा दर खाएर बालमती छोरीहरुसहित घर फर्कंदै थिइन् । त्यस क्रममा भारी वर्षा भएपछि तीनै आमाछोरी आठबिसकोट–१४ पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमा ओत लागेका थिए । अपराह्न ३ बजेतिर माथिबाट खसेको पहिरोले सामुदायिक वन भत्किँदा च्यापिएर उनीहरुको ज्यान गएको प्रजिअ शाहीले बताए ।

प्रहरी चौकी पुर्तिमकाँडाबाट गएको प्रहरी टोली र स्थानीयले भग्नावशेषमा पुरिएका उनीहरुलाई घाइते अवस्थामा बाहिर निकालेका थिए । तीनै जनालाई जाजरकोट जिल्ला अस्पतालमा लगेकामा दुईको उपचारका क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us