काँग्रेस र माओवादीबीच यसरी मिल्यो सिट संख्यामा भागबण्डा

काठमाण्डु टुडे २०७९ भदौ ९ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले ४ मंसिरमा घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे आफ्नो दल र काँग्रेसबीच सहमति भइसकेको खुलासा गरेका छन् ।

पुनले गठबन्धन आवद्ध अन्य दललाई छुट्याएर बाँकी रहेको सिटममा ६० प्रशितमा काँग्रेस र ४० प्रतिशत स्थानमा आफ्नो पार्टीले लिने गरी सहमति भइसकेको बताए । उक्त सहमतिलाई एक/दुई दिनभित्रै औपचारिकता दिने उनको भनाइ थियो । यद्यपि अरु दललाई कति सिट दिने सहमति भएको भन्नेबारे उनले थप खुलाएनन् ।

केपी ओलीको दक्षिणपन्थी र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्न निर्वाचनसम्म वर्तमान गठबन्धनलाई निरन्तरता दिन लागिएको पुनले बताए । देशलाई राजनीतिक स्थायित्व प्रदान गर्न, संविधानको रक्षा गर्न तथा विकास र समृद्धिको बाटोमा अघि बढ्न गठबन्धन अपरिहार्य भएको दाबी पुनले गरे ।

‘हामी र काँग्रेसको बीचमा सिटबाँडफाँटबारे मोटामोटी सहमति भएको छ’, पार्टीको बागमति प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक तथा गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई राजधानीमा सम्बोधन गर्दै पुनले भने, ‘गठबन्धनका अरु दललाई छुट्याएर बाँकी रहेको सिट संख्यामा काँग्रेसले ६० प्रतिशत र हामीले ४० प्रतिशत लिने भन्ने कुरा भएको छ ।’

पुनले केपी ओलीले एमालेलाई पार्टीबाट कर्पोरेट हाउसमा रुपान्तरण गरेको आरोप लगाए । एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको तथा त्यसको सिइओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी डाइरेक्टरको भूमिकामा रहेको टिप्पणी पुनले बताए । कर्पोरेटलाई देश र जनताभन्दा पनि मुनाफा र बोनसको मात्र चिन्ता हुने भन्दै उनले एमालेको चरित्र पनि त्यस्तै भएको बताए ।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे । ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सिईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, पुनले भने ।

एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए । ‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब÷सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरु नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन् ।’

उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुईपटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी गरे । तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे । उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए ।

जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए । ‘समाजवादको आधार निर्माणका लागि क्रान्तिकारी पार्टी चाहिन्छ । जुझारु कार्यकर्ता र जनताको समर्थन चाहिन्छ’, पुनले भने, ‘समाजको क्रान्तिकारी परिवर्तन र जनता तथा आफ्नै जीवनमा परिवर्तनका लागि पनि पार्टी चाहिन्छ ।

सडकमा खबरदारी गर्ने, सदनमा जनताको आवाज बोल्न सक्ने र सरकारमा रहँदा जनताको पक्षमा काम गर्ने पार्टी चाहिएको छ ।’ पार्टीका हरेक कमिटीका अध्यक्ष वा मुख्य नेतृत्वलाई पियानो बाधकको संज्ञा दिँदै पुनले समितिको मुख्य नेता, मुख्य संगठक र मुख्य व्यवस्थापकका हैसियतले अध्यक्षहरुले पियानो बजाउँदा दुवै खुट्टा र दसवटै औंला चलाउनुपर्ने बताए ।

आफ्नो समितिका सदस्यहरुलाई विचारले नेतृत्व गर्ने, भावनात्मक रुपले एकताबद्ध गर्ने र संगठनात्मक रुपले एकीकृत गर्नुका साथै जनतासँग जोडिएर जनभावनाअनुसार काम गर्ने गुण नेताहरुमा हुनुपर्ने चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us