राष्ट्रपतिमाथि प्रश्न गर्न नपाइने एमाले दाबी

काठमाण्डु टुडे २०७९ भदौ २ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २ भदौ– एमाले सांसद गोकुल बाँस्कोटाले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने राष्ट्रपतिको कदम संवैधानिक भएको दाबी गरेका छन् ।

सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार प्रतिनिधिसभामा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकबारे धारणा राख्दै बाँस्कोटाले गलत भए विधेयक फिर्ता गर्ने राष्ट्रपतिले पत्र च्यातेर देखाउन सत्तापक्षका सांसदलाई चुनौती दिए । उनले राष्ट्रपतिको काममा प्रश्न गर्न नपाइने जिकिर गरे ।

‘संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो । यसमा प्रश्न उठाउनेरु मिल्छ ?’, उनले भने , ‘संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ ?’ उनले नागरिकता विधेयकबारे प्रतिपक्षले रङ फेरेको सत्तापक्षको आरोपको खण्डन गरे । रङ प्रतिपक्षले नभइ सत्तापक्षले फेरिरहेको दाबी उनले गरे ।

बाँस्कोटाले टाउको गनेर गलत तरिकाल ऐन पास नगर्न भन्दै नागरिकता प्राप्तिलाई सस्तो नभई सरल बनाउनुपर्ने तर्क गरे । बाँस्कोटाले नागरिकता सम्बन्धमा छिमेकी देशबाट सिक्नुपर्ने बताए । सत्ता गठबन्धनले गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाए ।

‘नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन’, उनले भने, ‘पछि यसका दूरगामी परिणाम देखिन्छन् ।’ बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिन नहुने उल्लेख गरे । उनले नागरिकता नेपाली जाति र नेपाली नागरिकले मात्र पाउनुपर्ने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us