अन्ततः फेरि मिले प्रचण्ड र बाबुराम

काठमाण्डु टुडे २०७९ साउन २९ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, २९ साउन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको  नेपाल समाजवादी पार्टी मओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा चुनाव लड्न तयार भएको छ ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष भट्टराई तथा अर्का अध्यक्ष महेन्द्र राय यादवबीच भेटवार्तामा एउटै चिन्हमा चुनाव लड्ने सहमति भएको हो ।

अध्यक्ष यादवले आफूहरु माओवादी चुनाव चिन्हमा निर्वाचनमा जान सहमत भएको बताए । निर्वाचनपछि समाजवादी केन्द्र निर्माण गर्ने सहमति भएको समेत उनले जानकारी दिए ।

‘हामीहरुबीच एउटै चुनाव चिन्हमा निर्वाचनमा जान सहमति भएको छ’, यादवले भने, ‘चुनावपछि एउटै समाजवादी केन्द्र बनाउन हामी सहमत भएका छौं ।’

माओवादीको चुनाव चिन्ह पुरानो भएकाले आफूहरुले सोही चिन्हमा चुनाव लड्न लागेको यादवले बताए । उनले आफूहरुले यसअघि जितेका स्थानमा माओवादीले छाड्ने जानकारी दिए । भट्टराई गोरखा–२ र यादव सिरहा–४ बाट निर्वाचित सांसद हुन् ।

यादवले भोलि (सोमबार) सम्ममा लिखित समझदारी हुने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us