रेणुलाई हराउन नसकेको भूइँकटहर समूहद्वारा प्रचण्डविरुद्ध उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७९ साउन २८ गते २२:१८ मा प्रकाशित

चितवन, २८ साउन– चितवन काँग्रेसको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने निर्णय गरेको छ ।

काँग्रेस संस्थापन इतर समूहले पूर्वसभापति सुशील कोइरालाको ८३औं जन्मजयन्तीका अवसरमा शनिबार ‘कांग्रेस शुद्धीकरण अभियान’ को नाममा भेला गरी प्रचण्डविरुद्ध उम्मेदवारी दिने भएको हो ।

सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ । प्रचण्डले आगामी ४ मंसिरमा हुने निर्वाचनमा आफू चितवन–३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने घोषणा गरेका छन् ।

असन्तुष्ट काँग्रेस समूहले गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालविरुद्ध जगन्नाथ पौडेललाई उम्मेदवार खडा गरेको थियो । विद्रोही काँग्रेसको असहयोगको बाबजुद रेणु फराकिलो मतान्तरले मेयरमा निर्वाचित भएकी थिइन् ।

असन्तुष्टहरुको भेलामा सहभागी काँग्रेस कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले कोही तयार नभए आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने बताए । ‘पटकपटक कांग्रेस मतदाताले रुख चिह्नमा मत हाल्न नपाउने र हँसिया हथौडामा हाल्नुपर्ने किन ?’, उनले भने, ‘म एक्लै भए पनि चुनाव लड्न तयार छु ।’

पूर्वसांसद भीमबहादुर श्रेष्ठले वामपन्थीले लौरो टेकेर हिँड्न नसकिने बताए । भरतपुर महानगरमा भुइँकटहर चिन्ह लिएर बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले सधैं माओवादी बोकेर हिंड्न नसकिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us