विप्लवसहित चार कम्युनिष्ट घटकद्वारा नेपाल बन्द घोषणा

काठमाण्डु टुडे २०७९ साउन २८ गते ७:४३ मा प्रकाशित

काठमाण्डु, २८ साउन– विभिन्न  चार कम्युनिस्ट घटकले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विप्लव समूहबाटै चोइटिएर बनेको कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुत्त आन्दोलन घोषणा गरेको हो ।

उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका सवालमा संघर्ष गर्ने बताएका छन् ।  चार नेताले शुक्रबार विज्ञप्ति जारी गर्दै १ भदौमा देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ भदौमा देशव्यापी विरोधसभा तथा माइतीघर मण्डलामा उपत्यका केन्द्रीत केन्द्रीय विरोधसभा, ६ भदौमा देशव्यापी मसाल जुलुस र ७ भदौमा नेपाल बन्द घोषणा गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौता, विप्लवसहितका नेता कार्यकर्ताविरुद्धको पक्राउ पुर्जी, महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको भन्दै राज्य आतंक, राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नुबाहेक विकल्प नरहेको विज्ञप्तिमा उल्लेख छ ।

आफूहरुका आन्दोलनका कार्यक्रममा पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यका हर्कतहरुलाई परास्त गर्न सम्पूर्ण प्रगतिशील, वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुमा आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us