माओवादी छाडेका गौतम र देवकोटालाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाण्डु टुडे २०७९ साउन २७ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, २७ साउन– माओवादी केन्द्र छाडेका जीवन गौतमलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले गौतमलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यस्तै गत निर्वाचनमा हृदयेश त्रिपाठीसँगै तत्कालीन तमलोपाबाट विद्रोह गरी सूर्य चिन्हबाट चुनाव लडेका कपिलवस्तुका सांसद बृजेशकुमार गुप्तालाई पनि एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचनमा घोराही उप–महानगरपालिकाको मेयरमा टिकट नपाएपछि गौतमले गत ५ वैशाखमा पत्रकार सम्मेलन गरी माओवादी त्यागेको घोषणा गरेका थिए । ०७४ को स्थानीय निर्वाचनमा मेयरमा चुनाव लडेका उनी पराजित भएका थिए ।

माओवादीमा गौतम पार्टी केन्द्रीय सदस्य र दाङ इन्चार्ज थिए । पार्टी परित्यागको घोषणा गर्दा आफू कम्युनिष्ट विचारधाराबाट अलग नभएको भन्दै कुनै पनि पार्टीमा सक्रिय नहुने घोषणा गरेको भए पनि गौतम केही समयअघि एमाले प्रवेश गरेका हुन ।

एमालेले माओवादीबाटै आएका बाराका धर्मदत्त देवकोटा र झापाका अमृत राजवंशीलाई पनि केन्द्रीय सदस्य बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us