झाँक्रीलाई लक्षित गर्दै माधव नेपालले भनेः आफूले पद नपाउने बित्तिकै कुकर्म र जालझेलमा लाग्ने ?

काठमाण्डु टुडे २०७९ साउन २६ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, २६ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवाद बाही बन्न थालेको बताएका छन् ।

तीनकुनेस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले पार्टीभित्र व्यक्तिवाद बढेको बताए । पार्टीमा पद र पैसाका लागि जे पनि गर्ने डरलाग्दो प्रवृत्ति देखापरेको उनको भनाइ थियो ।

उनले आफूले पद नपाउँदा कुकर्म गर्ने चरित्र नेताहरुले नै देखाउन थालेको टिप्पणी गरे । ‘आफूले पद नपाउने बित्तिकै कुकर्म गर्ने, गुटबन्दीमा लाग्ने । अनेक षड्यन्त्र र जालझेलमा लाग्ने गर्ने हुँन थालेको छ’, उनले भने, ‘पद र पैसाका लागि जे पनि गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्छ ।

’ नेपालको आरोप नेतृ रामकुमारी झाँक्रीप्रति लक्षित छ । सहरी विकासमन्त्रीबाट फिर्ता बोलाएकामा झाँक्री नेपालसँग क्रुद्ध छिन् । मन्त्री छाडेयता झाँक्री र नेपालको भेटघाटसमेत भएको छैन । रुँदै मन्त्री पद छाडेकी झाँक्रीले सार्वजनिक रुपमै आवश्यक नपरेका कारण नेपाललाई आफूले नभेटेको टिप्पणी गर्दै आएकी छन् ।

नेपालले पनि झाँक्रीलाई भेट्न बोलाएका छैनन् । अध्यक्ष नेपालले व्यक्तिवादमा नलागी नीति, सिद्धान्त र निष्ठाका साथ सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us