चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्री बन्दिनः प्रचण्ड

काठमाण्डु टुडे २०७९ साउन २४ गते २२:११ मा प्रकाशित

काठमाण्डु, २४ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमाा आफू गृहजिल्ला चितवनको निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँगको कुराकानीमा चितवन–३ नछाड्ने बताए । यसअघि उनी ०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । विभिन्न जिल्लाबाट निर्वाचन लड्न सुझाव आए पनि आफूले चिवतन नछाड्ने उनको स्पष्टोक्ति थियो । ‘मैले प्रष्टसँग भनेको छु । म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु’, उनले भने, ‘चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु ।’

नेपालको केन्द्रमा रहेको तथा विकासको गतिलाई तीव्र रुपमा अघि बढाउन सकिने भएकाले देशभर सन्देश जाओस भन्नका लागि आफूले चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउन चाहेको प्रचण्डले बताए । उनले आफूलाई पार्टीका नेता कार्यकर्ताले रुकु, गोरखा, धनुषा, सिरहा, कालिकोट लगायत जिल्लाबाट प्रस्ताव आएको उनले बताए ।

‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास व्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ’, उनले भने, ‘तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’

फरक प्रसंगमा उनले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउने भूमिका पाए हुने उल्लेख गरे । ‘प्रधानमन्त्री बन्ने प्रस्ताव धेरै आए । अहिले पनि आइरहेको छ’, उनले भने, ‘तर म प्रधानमन्त्रीको रेसमा छैन ।’

आफू दुईपटक प्रधानमन्त्री भइसकेको भन्दै उनले अबको चाहना प्रधानमन्त्रीको छिनाझप्टीमा लाग्नेभन्दा पनि मुलुकमा सुशासन र विकासको वतावरण बनोस् भन्ने रहेको उनले बताए ।

भौतिक पूर्वाधारको विकास, विद्युतीकरणको तीव्रता, कृषिको विकास र कृषिमा आधारित उद्योगमार्फत नेपालालई आगामी ८ देखि १० वर्षमा विकासको नयाँ चरणमा लान सकिने सपना आफूले देखेको प्रचण्डले बताए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us