प्रतिनधिसभा बैठक बसेर राज्य दोहन गरियोः देवकोटा

काठमाण्डु टुडे २०७९ साउन २३ गते १५:०५ मा प्रकाशित

 काठमाण्डु, २३ साउन– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सांसदहरुको कार्यकाल सकिएकाले प्रतिनिधिसभा बैठक बस्न नमिल्ने बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले निर्वाचन घोषणापछि पनि बैठक राखेर राखेर राज्य श्रोतको दोहन गरिएको आरोप लगाए । कार्यकाल सकिएका सांसदहरुको बैठक राखेरराज्य दोहन नगर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरे ।

संविधानअनुसार सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी मनोनयनको एक दिन अघिसम्म मात्र रहने भन्दै सभामुख र उपसभामुख बाहेकका सांसदको कार्यकाल समाप्त भयसकेको जिकिर गरे ।

‘सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ’, उनले भने, ‘कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइदैन । राज्य दोहन गर्ने काम बन्द होस् ।’

निर्वाचनको मिति घोषणापछि सरकार, प्रतिनिधि सभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालीन महत्वका निर्णय नगर्न तथा कानून नबनाउन ध्यानाकर्षण गराए ।

उनले राजनीतिलाई दुहुनो गाई बनाउने प्रवृत्ति बढेको भन्दै एउटै व्यक्ति दुईपटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us