प्रचण्ड चितवन–३ बाट चुनाव लड्ने

काठमाण्डु टुडे २०७९ साउन २३ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, २३ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४ मंसिरमा घोषित प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बन्ने भएका छन् ।

०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित भएका थिए । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले प्रचण्ड चितवन–३ बाट चुनाव लड्ने निश्चित रहेको बताउँछन् । ‘उहाँले सार्वजनिक रुपमै पटकपटक चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ’, अधिकारीले काठमाण्डुटुडेसँग भने, ‘उहाँ चितवनभन्दा बाहिर जाने कुरा कल्पनासम्म गर्न सकिँदैन ।’

अधिकारीले आफ्नो दलले चितवनका सबै निर्वाचन क्षेत्रमा निर्वाचन तयारी थालिसकेको बताए । आइतबार पार्टीका बागमति प्रदेश इन्चार्ज हितमान शाक्यको उपस्थितिमा भरतपुरमा बसेको जिल्ला कार्यालयको विस्तारित बैठकले चुनाव लक्षित एक महिने संगठन सुदृढीकरण र जनसम्बनध विस्तार अभियान सुरु भएको अधिकारीले उल्लेख गरे ।

बैठकले एकमतले प्रचण्डलाई चितवन–३ बाटै निर्वाचन उठाउने निर्णयसमेत गरेको उनले जनाए । अधिकारीले माओवादी इतर राजनीतिक दलका कार्यकर्ता र मतदाता तथा व्यवसायी, बुद्धिजिवी, पेशाकर्मीसमेतले प्रचण्डलाई चितवनबाट बाहिर जान नदिन आफूहरुलाई खबरदारी गरिरहेको बताए । ‘माओवादीले मात्र होइन चितवनको विकास चाहने काँग्रेस, एमाले, राप्रपा लगायत दलका कतिपय नेता कार्यकर्ताले हामीले भेटेरै प्रचण्डलाई अन्त जान नदिन दबाब दिइरहनुभएको छ’, अधिकारीले भने, ‘प्रचण्डलाई फेरि जिताएर पठाउन हामी आतुर छौं, चितवन आतुर छ ।’

पार्टी अध्यक्ष हुनुको नाताले आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा आएर चुनाव लडिदिए हुन्थ्यो भनने चाहना देशभर रहे पनि त्यो सम्भव नहरेको उनले बताए । प्रचण्ढले अमुक जिल्ला वा क्षेत्रबाट चुनाव लड्ने भनी आएका हल्लाको पछि नलाग्न अधिकारीले आग्रह गरे । प्रचण्डलाई रुकुमपश्चिम, बर्दिया, सिन्धुली, गोरखा लगायत जिल्लाबाट चुनाव लड्न ती जिल्लाका माओवादी नेता कार्यकर्ताले आग्रह गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us