काठमाण्डु, १९ साउन– निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने मन्त्रिपरिषदको निर्णयको स्वागत गरेको छ ।
मन्त्रिपरिषदले बिहीबार निर्वाचन मिति घोषणा गरेसँगै पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । निर्वाचन आउन अब १ सय ७ दिन मात्र बाँकी रहेको भन्दै उनले सो अवधिमा अर्जुन दृष्टिका साथ निर्वाचनको काम गर्ने बताए ।
थपलियाले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनेमा आशंका नगर्न आग्रह गरे । चाडपर्वका कारण निर्वाचन तयारीमा कर्मचारी परिचालनमा समस्या आउन सक्ने भए पनि त्यसको सही व्यवस्थापन हुने उनको भनाइ थियो । थपलियाले आगामी मंसिर २१ मा अहिलेका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको म्याद सकिने बताए ।
संविधानमा र निर्वाचन कानूनको व्यवस्था अनुसार सांसदहरुको पदावधि मंसिर २१ गतेसम्म रहने उनको भनाइ थियो । कतिपय कानूनका जानकारहरुले भने निर्वाचन घोषणासँगै हालका सांसदको पद स्वतः जाने बताउँदै आएका छन् ।