अखिल क्रान्तिकारीको विवादबारे प्रचण्डले भनेः पवन कार्कीमाथिको कारबाही पार्टीले मान्दैन

काठमाण्डु टुडे २०७९ साउन १७ गते २२:०३ मा प्रकाशित

काठमाण्डु, १७ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुवै समूहसँग छलफल गरेका छन् ।

प्रचण्डले क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र विद्रोही समूहका संयोजक पवन कार्कीलाई बोलाएर छलफल गरेका हुन् । पदाधिकारीमा सिंह समूहले एकलौटी गरेको भन्दै कार्कीले सामानन्तर संगठन घोषणा गरेका थिए । छलफलमा प्रचण्डले पदाधिकारी चयनमा कमजोरी भएको स्वीकार गरेको कार्कीले बताए । ‘अध्यक्षले पदाधिकारी चयनमा केही कमजोरी भएको स्वीकार गर्नुभयो’, कार्कीले काठमाण्डुटुडेसँग भने, ‘अब कसरी सुधार गर्ने भन्नेबारे स्थायी समितिमा पनि छलफल गरेर अगाडि बढ्ने कुरा गर्नुभएको छ ।’

प्रचण्डले पार्टी स्थायी समितिमा समस्या समाधानबारे दुवै पक्षलाई राखेर कुरा गर्ने बताएको र सोहीअनुसार आफूहरुलाई बोलाइएको कार्कीले उल्लेख गरे । प्रचण्डले दुवै पक्ष मिलेर अगाडि जानुको विकल्प नरहेको र कसैलाई निषेध गरेर जानुपर्छ भन्नेमा आफू र पार्टीका कोही पनि नेता नरहेको बताएका थिए । ‘सुझाव समितिले पनि मिलेरै जानुपर्ने सुझाव दिएको छ । स्थायी समितिका सबै सदस्यको पनि मिलाएरै लानुपर्छ भन्ने आएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै कार्कीले भने ।

छलफलमा अध्यक्ष सिंहले भने सांगठनिक अराजकता देखिएकाले कार्कीसहितलाई अनुशासनको कारबाही गरिएको बताएकी थिइन् । तर, प्रचण्डले संगठनले गरेको कारबाही स्वीकार्य हुन नसक्ने जवाफ दिए । ‘कारबाहीको विषय नै छैन । पार्टीले कारबाही गरेको छैन’, प्रचण्डले भने, ‘कारबाही गर्ने भए समानान्तर कमिटी बनाएकासँग कुरै हुने थिएन । पवनजी र उहाँसँग नजिक भएका साथीहरुप्रति कोही पनि नकारात्मक छैन ।’

प्रचण्डले सिंह समूहले दुईपटकसम्म आफूहरुमाथि गरेको कारबाही खारेज गरिदिएको कार्कीले बताए । उनले आफूले ३२ वर्षे उमेर हद लगाउनुपर्ने र विशेष राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने माग राखेको जानकारी दिए । उनका अनुसार जवाफमा प्रचण्डले विशेष सम्मेलन गरेर जानुपर्ने सुझाव सुझाव समितिले पनि दिएको बताएका थिए ।
माओवादी स्थायी समितिले समस्या समाधानका लागि क्रान्तिकारीका पूर्वअध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने तथा रत्न ढकाल रहेको सुझाव समिति गठन गरेको थियो । समितिले कार्की समूहमाथिको कारबाही फिर्ता, समानान्तर समिति भंग, आयोजक समिति बनाएर विशेष राष्ट्रिय सम्मेलन घोषणा गर्नुपर्ने सुझाव दिएको थियो ।

आयोजक समितिको संयोजक सिंहलाई नै तोक्ने वा उमेर हद लगाएर उनलाई बिदा गरेर नयाँ ल्याउन सकिने पनि सुझावमा उल्लेख छ । कार्कीका अनुसार प्रचण्डले समस्या समाधानबारे पार्टी स्थायी समितिले निर्णय लिने र आवश्यक परे फेरि छलफलमा बोलाउने बताएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us