काठमाण्डु, ४ साउन– विराटनगरबाट एक वर्षीया बालिका अपहरण गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ की अनु साह र विराटनगर–६ का २७ वर्षीय रवीन्द्रकुमार साह छन् । उनीहरुले बुढीगंगा–१ का दिपेन यादवकी १ वर्षकी छोरी निकिशालाई विराटनगर–१२ रोड शेष चोकछेउबाट २ साउनमा अपहरण गरेका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले साहद्वयले बालिकालाई भारत पु¥याएर परिवारसँग १५ लाख फिरौती मागेको बताए । अनुले दिपेनलाई बच्चा हेर्न मन लागेको भन्दै चियाखान बोलाएकी थिइन् । उनी छोरीलाई कारमा राखेर रोडशेष पुगेको र त्यही क्रममा अनुले बालिका लिएर भागेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुबीच दुई वर्षदेखि चिनजान र कुराकानी हुने गरेको देखिएको छ । अनुले बालिका लिएर भाग्दै गर्दा मोटरसाइकल लिएर रवीन्द्र पूर्वतयारी अवस्थामा थिए । उनीहरुले बालिकालाई सुनसरीको दुहबी इनरुवा, सप्तरीको राजविराज हुँदै कुनौलीबाट भारत लगेका थिए ।
अनु बालिका लिएर बसमार्फत भारत गइन् भने रवीन्द्र विराटनगर फर्किए । अनुकै मोबाइल प्रयोग गरी पीडित परिवारलाई रवीन्द्रले बालिका हराएको सूचना सामाजिक सञ्जालबाट हटाउन धम्की दिएका थिए ।
नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा दरभंगाबाट बालिकासहित अपहरणमा संलग्न अनु साहलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाका मुख्य योजनाकार रवीन्द्र साहलाई बुढीगंगा–१ स्थित उद्योगबाट नियन्त्रणमा लिएको छ ।
दुवै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्ने गरी अनुसन्धान अघि बढेको एसपी कोइरालाले बताए । फौजदारी संहिता–२०७४ अनुसार साहद्वयलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्छ ।