बजेट निर्माणबारे ओलीको टिप्पणीः यस्तै अनैतिक काम संसारमा कतै भएको छैन

काठमाण्डु टुडे २०७९ असार २० गते १४:२० मा प्रकाशित

काठमाण्डु, २० असार– प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले अनाधिकृत व्यक्तिले बजेट निर्माण गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार विशेष समय मागेर प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका ओलीले अर्थमन्त्री जनार्दन शर्माले अनैतिक काम गरेको आरोप लगाए ।

नेपालमा विश्वमै कतै नभएको अनैतिक काम भएको टिप्पणी ओलीको थियो । ‘अहिलेसम्म विश्वमै यति अनैतिक काम भएको छैन होला’। ओलीले भने, ‘देशको अर्थतन्त्रका विरूद्ध यस प्रकारका क्रियाकलाप भएका छैनन् होला विश्वमा ।’ ओलीले बजेट निर्माणको समयमा मन्त्रालयका सचिवहरुसमेत बाहिर नजाने गरेको विगत स्मरण गरे ।

‘यो पहिलो घटना हो । बजेट बनाउने बेला सचिवहरू, अर्थ मन्त्रालयका उच्च कर्मचारीहरू मन्त्रालयमै बस्छन् । त्यहीँ खान्छन्, त्यहीँ बस्छन्,’ उनले भने, ‘त्यहाँबाट बाहिर जान पाउँदैनन् । अझ करका दरहरूका सम्बन्धमा अन्तिम रात जतिबेला फैसला हुन्छ त्यतिबेला कर्मचारी बाहिर जान पाउँदैनन् । किनभने यो सेक्रेसीको मामिला छ । गोप्य कुराहरू लिक हुन सक्छन् । तर यहाँ त बजेटका दर कतिकति राखौं कति कतिकति चाहिन्छ भनेर बजेट बनाइयो । गज्जब छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us