जसपाका तीन मन्त्रीको गयो पद, तीन नयाँ मन्त्रीको सपथ हुँदै

काठमाण्डु टुडे २०७९ असार २० गते ९:४० मा प्रकाशित

काठमाण्डु, २० असार– जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, वन तथा वातावरणमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएका हुन् ।

यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटारमा भेटेका थिए । यादवले नयाँ तीन मन्त्रीको नाम पनि सिफारिस गरेका छन् ।

अध्यक्ष यादवले भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवको नाम सिफारिस गरेका छन् ।

जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ । श्रोतका अनुसार तीन नयाँ मन्त्रीको सपथ आजै हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us