बालबालिकालाई लगाउन ल्याइयो २३ लाख मात्रा खोप

काठमाण्डु टुडे २०७९ असार २० गते ८:०९ मा प्रकाशित

काठमाण्डु, २० असार– बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए  ।

उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ ।

आइतबार प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ। यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो ।

सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ । पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो ।

सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us