पर्यटक लुट्न खोज्ने सात जना पक्राउ

काठमाण्डु टुडे २०७९ असार १९ गते १५:४३ मा प्रकाशित

हुम्ला, १९ असार– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरुले ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई लुट्ने प्रयास गरेका थिए।

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् ।

प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए । सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ ।

इक्मा पूर्वको कञ्चनजंगा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए । उजुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us