काठमाण्डु महानगरले थुपा-यो पुतलीसडकमा फुटपाथमै फोहोर

काठमाण्डु टुडे २०७९ असार १९ गते १३:११ मा प्रकाशित

काठमाण्डु, १९ असार– काठमाण्डु महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ ।

महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो ।

गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताउँछन् ।

फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् ।

‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौं’, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठ बताउँछन् । राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको उनले बताए ।

महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवै थरी फोहोर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।

महानगरपालिकाले सूचना जारी गरे पनि अनुगमन गरेर फोहोर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us