म बाचुञ्जेल केरुङबाट काठमाण्डु रेल आउँदैनः शर्मा

काठमाण्डु टुडे २०७९ असार १५ गते १८:३८ मा प्रकाशित

काठमाण्डु, १५ असार– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाण्डु रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन् ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा शर्माले नेपालले केरुङ–काठमाण्डु रेल निर्माण गर्नै नसक्ने जिकिर गरे । उनले जनतालाई झुक्याउन नहुने भन्दै रेल ल्याउन नसक्ने विषयमा सत्य बताइदिनुपर्ने उल्लेख गरे । भारत र चीनलाई रेलमार्गको बाटो लिजमा दिने वा उपहार प्रोजेक्टका रुपमा लगानी गर्न आग्रह गरिनुपर्ने उनको भनाइ थियो ।

नेपाल गरिब मुलुक भएकाले दुवै देशले व्यापारका लागि बाटो भाडामा लिन सक्ने तर्क गरे । बरु नेपालले पूर्व–पश्चिम रेल भने बनाउन जरुरी रहेको शर्माको भनाइ थियो । शर्माले चुनावमा भोट तान्न गरिने आकर्षक घोषणाले विकास सम्भव नहुने भन्दै आन्तरिक पुँजी परिचालन गरेर एकैपटक ठूला आयोजना बनाउन सक्ने अवस्थामा नेपाल नरहेको बताए ।

एउटै अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन राम्ररी गर्न नसकिएका बेला एकैपटक चार वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थाल्नु गल्ती भएको बताए । शर्माले आफू बाचुञ्जेल केरुङबाट काठमाण्डु रेल आउन नसक्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us