गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्धिको बहसमा केन्द्रित गरौँ : ओली

काठमाण्डु टुडे २०७९ जेठ १५ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ–  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धि तर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई आफूहरुले मुलुकमा गणतन्त्र स्थापना गरेर सुशासन र समृद्धि तर्फको बहसमा केन्द्रीत गर्न सफल भएको बताएका छन् ।

उनले अघिल्लो सरकारले नयाँ संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको बताए ।

“आजको यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो, मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित रहने ऐतिहासिक उपलब्धि हामीले हासिल गरेका थियौँ”, उनले सन्देशमा भनेका छन्, “यस ऐतिहासिक परिवर्तनपछि मुलुकले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको अभ्यास गरिरहेको छ ।”

अध्यक्ष ओलीले संविधानमा निहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरेर मुलुकमा नव निर्माणको नयाँ युगको थालनी भएको बताए ।

“जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो, यसले सिङ्गो राष्ट्रलाई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएको थियो”, उनले  सन्देशमा भनेका छन् ।

उनले जनताको वलिदानीपूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अङ्गलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या तथा अपव्याख्याद्धारा प्रहार गर्ने कामसमेत भइरहेको उल्लेख गरे ।

“संविधानमाथि प्रहार गर्दा मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाप्रतिको जनताको आस्थामाथि समेत चोट पु¥याएको छ”, उनले सन्देशमा भनेका छन्, “आज मुलुकको विकासमा सम्पूर्ण काममा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनको लिएको छ ।”
उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी रहेको भन्दै राष्ट्रको यस आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जन अनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us