गणतन्त्रात्मक शासन व्यवस्था समृद्धिको साझा बाटो होः देउवा

काठमाण्डु टुडे २०७९ जेठ १५ गते ७:४५ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् ।
१५औं गणतन्त्र दिवसका अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका छन् ।
उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।
प्रधानमन्त्रीले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाका लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सबैको स्वास्थ्यलाभको कामना गरेका गरे ।
देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुक अघि बढिरहेको बताए ।

संविधानले आमनेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको स्मरण गर्दै देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्पूरा गर्ने यात्रामा सरकार क्रियाशिल रहेको बताए ।
गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा संविधानसभाबाट संविधान जारी हुनु, संविधानले परिकल्पना गरेका विभिन्न संवैधानिक अङ्ग तथा निकाय पूर्णरूपमा सञ्चालनमा आउनु तथा संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारको निर्वाचन सम्पन्न भई मुलुकमा विधिको शासन स्थापना हुनुजस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको देउवाले बताए ।

शासन प्रणालीमा सबै जनाको सहभागिता, स्वामित्व र अपनत्व स्थापित हुनसकेको र नागरिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति भएर मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको प्रधानमन्त्री देउवाको दाबी थियो ।

नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी जनताबाट नयाँ जनप्रतिनिधिहरूको छनोट गर्न सफल भएको उल्लेख गर्दै उनले यसबाट प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको जगलाई थप मजबुत बनाउँदै नागरिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्न सहयोग पुगेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us